काठमाडौं । यस साता शेयर बजार परिसूचक नेप्से नगन्य अंकले धनात्मक रह्यो । गत साता १ अंक बढिले घटेको नेप्से यस साता झिनो अंकले मात्रै सुधारियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलब दुई शून्य अंकले वृद्धि भई अन्तिम दिन ५ सय ४१ दशमलब तीन नौ अंकमा थामियो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ८ हजार २६ कारोबारबाट ५४ करोड ६० लाख रुपैयाँ बराबरका २० लाख ५९ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता १ सय ३४ कम्पनीको ८ हजार १ सय ८१ कारोबारबाट ५८ करोड ७९ लाख रुपैयाँ बराबरका २१ लाख ११ हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा भने गत साताको तुलनामा ७ प्रतिशत बढिले ह्रास भएको हो ।
यस साता कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा कैलाश विकास बैंक अग्रस्थानमा रह्यो भने कारोबार संख्याको आधारमा मेघा बैंक अग्रस्थानमा रह्यो । कारोबार रकमकै आधारमा कैलाश विकास बैंकलाई नेपाल वंगलादेश बैंक, चिलीमे हाइड्रो पावर कम्पनी, नबिल बैंक र सोल्टी होटलले क्रमशः पच्छ्याउन पुगे ।
यस साता एलाइन्स इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ४७ हजार कित्ता वोनस शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । RSS, IMAGECHANNEL



