-उमाकान्त पाण्डे गाउंले
असोज २९ , दुबइ – संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा अलपत्र परेका दुई नेपाली स्वदेश फर्किएका छन । दुई बर्ष देखि दुबइमा अलपत्र परेका झापा गौरीगन्जका बेद प्रसाद तिमील्सिना र दिपक आचार्य शनिबार नेपाल फर्किएका हुन ।
उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा मुद्दा लागे पछि दुबइमा अफ्ठारोमा परेका हुन ।
उनीहरुले आफ्नो कम्पनीको मालिक जेलमा परेपछि छुटाउनका लागि कम्पनीमा कार्यरत चार नेपालीले आफुहरुको राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका थिए ।
मालिकको रिहाइ पछि आफुहरुलाई राम्रो होला भनेर राहदानी बुझाएर सहयोग गरेका उनीहरु आफ्नो राहदानी अरुलाई गलत प्रयोजनका लागि दिएको आरोपमा दुबइ अदालतमा मुद्दा परेपछि उनीहरु दुई बर्ष यता नेपाल फर्किन सकेका थिएनन ।
यूएईको रसअलखेमाको अल साब्री स्टिल वर्क कम्पनीमा कामगर्न यूएई आएका उनीहरु रित्तो हात नेपाल फर्किनुपरेको हो । न काम गरेको तलब पायौ न सहजरुपमा स्वदेश फर्किन, हुँदा हुँदा अब दुबइ नै आउन नमिल्ने गरी फर्किदै छौ , वेद प्रसादले भने ।
अफ्ठारो अवस्थामा परेको लामो समय सम्म पनि कही कतै बाट सहयोग नभए पछि चिन्तामा परेका उनीहरु आफ्नै प्रयासबाट अब यूएई आउन नमिल्ने गरि आफ्नो नाम ‘कालो सूचीमा’ राखेर नेपाल फर्किएका हुन । सबै प्रकृया आँफै पुरा गरेर आफन्त सगं टिकट मागेर उनीहरु नेपाल फर्किएका हुन ।
अलपत्र मध्ये बेदप्रशाद ९ बर्ष देखी सोही कम्पनीमा कार्यरत थिए । १९ महिना अघि नेपाल बिदामा गएर फर्किएका उनी दुबइ आएको ३ दिन पछि कम्पनीको मालिक जेलमा परेको थाहा पाएका थिए । अलपत्र मध्ये दिपक ४ बर्ष अघि बाट सोही कम्पनीमा कार्यरत थिए ।