गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेको पाँचतारे सेराटनले घरजग्गा करबापतको झण्डै चार करोड रुपैयाँ बुझाएको छ ।
घलेको एमआईटी ग्रुप होल्डिङ् प्रालिले काठमाडौं महानगरपालिकालाई घर जग्गा कर बापत २०६५ सालदेखि २०६९ साल असोज मसान्तसम्मकोे एकमुष्ट ४ करोड ३६ लाख ७३ हजार ५७५ रुपैयाँ बुझाएको छ । उक्त करमा १३ हजार ६ सय ४० रुपैयाँ ६४ पैसा मालपोत कर, १०० रुपैयाँ विपद् व्यवस्थापन कोषका लागि रकम र निवेदन दस्तुरवापत् १० रुपैयाँ समावेश छ ।
७ सय देखि ८ सय करोड रुपैयाँ लगानीमा स्टार उड होटल ग्रुपको ब्राण्ड नाम र सेराटन होटलको व्यवस्थापनमा पाँचतारे होटल सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
घर जग्गा कर २०१९ को दफा १० बमोजिम मन्त्रिपरिषद्को भदौ २४ गतेको बैठकले सेराटन होटलका लागि ८३ लाख ९७ हजार ९ सय २५ रुपैयाँ माफी दिएको थियो ।
वि. सं. २०६७ साल बैशाख २२ गते काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित नारायणहिटी दरबार, केशरमहल र समाज कल्याण परिषद्को बीचमा रहेको कित्ता नं. २४०८, २४४३ र २४५५ मा पर्ने १३ रोपनी जग्गा ७१ लाख रुपैयाँमा कम्पनीले पाँचतारे डिलक्स होटलका लागि जग्गा खरिद गरेको थियो ।