स्वर्गीय डा. वाग्लेको परिवार लाई पोर्चुगल बाट सहयोग

बिनोद घिमिरे
लिस्वन- एपेन्डिक्स क्यान्सर ले पीडित भई गत महिना निधन भएका डा.चित्रप्रसाद शर्मा वाग्लेको परिवारलाई पोर्चुगलबासी नेपालीको तर्फबाट आठ सय नब्बे युरो अर्थात् १ लाख १६ हजार पाँच सय साठी रुपैंया सहयोग प्रदान गरिएको छ ।
अर्घाखाँची सन्धिखर्क स्थायी घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आएका बिनोद घिमिरे को आग्रह र हेल्पिङ्ग्स ह्यान्ड्स तपाईको मित्र समुहका राज कुमार गुरुङ, बुद्धि गुरुङ र कमल गुरुङ को सक्रियतामा  संकलन भएको सो रकम सोमबार स्वर्गीय वाग्लेकी श्रीमती पुजा पराजुलीलाई हस्तान्तरण गरियो । लिस्वनका व्यवशायी तथा समाजसेवी नारायण प्रसाद सापकोटा ले उक्त रकम स्व, वाग्लेको काठमाडौं स्थित घर मै पुगेर    हस्तान्तरण गरेका हुन्। संकलित रकम लिस्वनका नेपाली व्यवशायी र नेपाली दाजुभाई दिदीबहिनी हरु बाट संकलन गरिएको हो। बिरामीको उपचारमा सहयोग पुर्याउने हेतुले जम्मा गरिएको उक्त रकम डा. वाग्ले को गत महिना निधन भएपछि उनको परिवार लाई प्रदान गरिएको छ। स्व. डा. वाग्लेका नावालक दुई छोरी र एक अपाङ्ग छोरा छन् ।
आफनो मृत्युपछि डा. वाग्लेले सन्तानको भविष्यबारे चिन्ता गरेकाले परिवारलाई सहयोग उपलब्ध गराएको रकम संकलनमा जुटेका घिमिरेले बताएका छन् । एपेन्डिक्स क्यान्सर रोगबाट पीडित डा. वाग्लेको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गर्दागर्दै निधन भएको थियो । भारतको नया दिल्लीस्थित राजीव गान्धी अस्पतालमा १४ महिनासम्म बसेर उपचार गरेपनि उपाय नलागे पछि गत भदौमा उनी काठमाडौं फर्केका थिए। बर्षौ सम्म दुर्गम जिल्लाहरुमा सेवा गरेका डाक्टर को स्वास्थ्योपचारमा सरकार उदासिन रहेको गुनासो उनको रहेको थियो। अर्घाखाची जिल्ला अस्पतालमा कार्यरत डा वाग्ले दुई वर्ष अघि उत्कृष्ट चिकित्सकका रूपमा सरकारबाट पुरस्कृत भएका थिए ।