भारतमा नुनको अभाव भएको हल्लाका कारण पूर्व क्षेत्रमा समेत नूनको कृत्रिम अभाव सृजना

भारतमा नुनको अभाव भएको हल्लाका कारण पूर्व क्षेत्रमा समेत नूनको कृत्रिम अभाव सृजना गरिएको छ । जसका कारण शुक्रवार सयौंको संख्यामा सर्वसाधारणहरु विराटनगरमा रहेको  साल्ट ट्रेडिङ अञ्चल कार्यालयमा लाइनमा बसेर तीन/तीन पोका नुन लिए ।  तर साल्ट ट्रेडिङले सात महिनालाई पुग्ने मौजात नुन रहेको जनाएको छ ।
भारतीय एक दैनिक पत्रिकाले भारतमा नुन अभाव भएको समाचार प्रकाशित गरेको थियो । त्यहाँ  प्रति केजी १ सय रुपैयाँसम्ममा बिक्री भएको खवर बाहिर आएपछि सीमावर्ती बजारमा नुनको अभाव देखिएको हो । हल्लासँगै कालोवजारीहरुले नुन लुकाएका छन् ।
यहाँको बजारमा शुक्रवार प्रतिकेजी १६ रुपैयाँले पाइने नुन ५० रुपैयाँ सम्म पुगेको छ भने धेरै पसलहरुले लुकाएर कृतिम अभाव सृजना गरेका छन् । ‘हामीसँग पुर्व क्षेत्रलाई ७ महिनाका लागि पुग्ने मौजात छ तर अनावश्यक हल्लाको पछि लागेर सर्वसाधारणहरु घण्टौ लाइनमा बसेका छन्,’ साल्ट ट्रेडिङका प्रमुख सहायक दिलचन्द्र राईले भने, ‘दैनिक सरदर १ हजार वोरा बिक्री हुने आयोनुन आज मात्रै ६ हजार बोरा भन्दा बढी गयो ।
‘ शुक्रवार मात्र ६ सय भन्दा बढी सर्वसाधारण सालटे्रडिङ पुगेर नुन खरिद गरेका थिए । बजारमा ब्यापारीहरुले कृत्रिम अभाव सृजना गरेपछि साल्ट टे्रडीङले आफ्नै कार्यालयवाट बिक्री सुरु गरेको हो । विराटनगरमा रहेको एक मात्र डिपार्टमेट स्टोर नेपाल बजारले सर्वसाधारणहरुलाई हल्लाको पछि नकुद्‌न आग्रह गर्दै ग्राहकहरुलाई म्यासेज पठाएको छ । ‘हामीसँग अहिलेपनि १० हजार बोरा नुन छ, उपभोक्ताहरुले सहज रुपमा पाउने छन्,’ सञ्चालक सुवास आर्चायले भने ।
साल्ट ट्रेडिङले आफ्ना शाखा कार्यालयहरु लहान , राजविराज र बिर्तामोडबाट पनि बिक्री सुरु गरेको छ । त्यहाँपनि पर्याप्त मौज्दात रहेको राईले वताए । विराटनगर अञ्चल कार्यालयमा मात्र अहिले १ लाख ५० हजार बोरा आयो नुन मौज्दात छ । भारतमा नून अभावको हल्ला चलेपछि फेरी उतै जाने सम्भावना रहेको कार्यालयले जनाएको छ । त्यसका लागि सीमा क्षेत्रमा कडाई गर्न प्रसासनसँग आग्रह समेत गरिएको राईले बताए । पूर्व क्षेत्रका लागि भारतको गुजरातबाट ९ लाख बोरा नून आउने गरेको कार्यालयले जनाएको छ ।  
Source:Ekantipur