काठमाडौँ- वाग्मती, लालबकैया र कमलानदी नियन्त्रणका लागि तटबन्धको निर्माण गर्न नेपाल सरकारलाई भारत सरकारले अनुदान सहयोगस्वरुप करिब रु ३७ करोड प्रदान गरेको छ।
नेपालका ती नदी भारतसँग सीमा जोडिएका छन्। वर्षात्मा जलउत्पन्न प्रकोपका कारणले बर्सेनि नेपाली पक्षले भौतिक क्षतिसम्बन्धी पीडा भोग्नुपरिरहेको छ। नेपाल भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको सातौं बैठकको निर्णयअनुरुप भारत सरकारले उक्त रकम ती नदी नियन्त्रणका लागि निकासा गरेको हो।
सिँचाइमन्त्री उमाकान्त झालाई नेपलाका लागि भारतीय राजदूत रञ्जित रेले आज अयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरे। यसअघि भारत सरकारबाट वाग्मती नियन्त्रणका लागि करिब रु ७५ करोड, लालबकैया नियन्त्रणका लागि रु ७७ करोड र कमला नियन्त्रणका लागि एक अर्ब रु १९ करोड प्रदान गरिसकेको छ। यसबाट वाग्मतीमा ४० किमि, लालबकैयामा ६१ किमि तथा कमलामा ६६ किमि गरी १६७ किमि तटबन्ध निर्माण भइसकेको छ।
कार्यक्रममा मन्त्री झाले वर्षात्मा ढुवानी समस्या समाधान गर्न दुई देशबीच थप आपसी सहयोगको खाँचो औँल्याए। मन्त्रालयका सचिव प्रतापकुमार पाठक र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक प्रदीपराज पाण्डेले बाढीको प्रभावकारी व्यवस्थापनमा भारत सरकारले प्रदान गरेको सहयोगका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद ब्यक्त गरे। RSS