युएइमा मोटरसाइकल दुर्घटनाबाट एक नेपालीको मृत्यु

– उमाकान्त पाण्डे गाउंले  
दुबइ – युएइको शारजाहमा मोटरसाईकल दुर्घटनामा परी गोरखा आँपपिपल ६ का बिमल न्यौपानेको मृत्यु भएको छ  ।
उनी गत आइतबार दिउसो ३ बजे सारजाह युनिभर्सिटी एरियामा दुर्घटनामा परेका थिए  । मुलबाटोमा हिडिरहेका न्यौपानेको मोटरसाईकललाइ साइड रोडबाट मुलबाटोमा निस्केको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई सारजाह प्रहरीले नियन्त्रणमा लिएको छ ।
सारजाहमा मोटरसाइकल मार्फत बर्गर किङ कम्पनीको खाना डेलिभरी गर्ने न्यौपाने ७ बर्षदेखि युएइमा कार्यरत थिए । 
उनी  ४ बर्षदेखि मोटरसाइकलमा डेलिभरीको काम गर्दै आएको गोरखा आँपपिपल  घर भइ हाल दुबईमा रहेका गोरखा सेवा समाज युएइका संरक्षक उत्तम अधिकारीले जानकारी दिए । 
मध्यम परिवारका न्यौपानेको एक छोरा , एक छोरी र श्रीमती छन् । उनी अर्को महिनाको पहिलो हप्ता छुट्टीमा घर जाने तयारीमा थिए ।
न्यौपानेको शब  बिहिबार नेपाल पठाईएको छ । शब नेपाल पठाउनका लागि नेपाली जनप्रगतिशील मंच तथा गोरखा सेवा समाज युएईले पहल गरेको हो ।