– रमेश गिरी
बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको पाँच महिनापछि भक्तपुरलाई बिहीबारदेखि संकटग्रस्त क्षेत्र फुकुवा गरिएको छ । कृषि तथा सहकारी मन्त्रालयले संकटग्रस्त क्षेत्र फुकुवा गरेपछि बिहीबारदेखि नै भक्तपुरमा पंक्षी तथा पंक्षीजन्य पदार्थको खुला रुपमा बिक्री सुरु भएको छ ।
गएको साउन ११ गतेदेखि बर्ड फ्लू फैलिएपछि जिल्लालाई ३० गते कृषि तथा सहकारी मन्त्रालयले बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरी पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसार र बिक्री वितरणमा रोक लगाएको थियो । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले अब निर्धक्कसंग कुखुरा, कुखुराको मासु, अण्डा बिक्री वितरण गर्न र खान सकिने बताउनुभयो ।
गएको साउनमा भक्तपुर सिपाडोलको हिमाल पोल्टी फार्ममा पहिलो पटक बर्ड फ्लू देखापरेको थियो । साउन ३० गतेसम्म ५२ वटा पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएपछि जिल्लालाई नै संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
संकटग्रस्त घोषण गरेपछि कृषि तथा सहकारी मन्त्रालयको रेपिड रेस्पोन्स टोलीले असोज ३ गतेसम्म सबै पंक्षी एवं पंक्षीजन्य पदार्थ नष्ट गरेको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले ५ सय १८ वटा पोल्ट्री फार्मका कुखुरा, हाँस लगायतका पंक्षी नष्ट गरेको जानकारी दिनुभयो ।
दैनिक पाँच हजार एक सय ६६ मेट्रिक टन कुखुराको मासु तथा दुई करोड ६८ लाख १४ हजार वटा अण्डा उत्पादन हुने भक्तपुरमा अहिले भने मासु र अण्डाको अभाव छ । मासु र अण्डा अभाव भएपछि मुल्य बढेको छ ।
बर्डफ्लुका कारण भक्तपुरका व्यबसायीलाई पाँच अर्ब रुपैयाँ नोक्सान भएको छ भने सरकारले करिब १३ करोड रुपैयाँ क्षतिपुर्ति दिएको छ । बर्ड फ्लूका कारण करिब सात हजार मजदुरले रोजगारी गुमाएका छन् ।