बुटवल,पुष २१
उच्च माध्यमिक विद्यालयका प्रचार्यहरुका लागी शिक्षिक नेतृत्व विकास सम्बन्धि तालिम आज बुटवलमा शुरु भएको छ।
उच्च माध्यमिक शिक्षा परिषद,योजना तथा मुल्यांकन महाशाखाको आयोजनामा शुरु भएको तालिममा पशिमंचल विकास क्षेत्रका विभिन्न ३५ वटा उच्च माविका प्रचार्यहरुको सहभागिता रहेको छ.
तालिमको उद्घाटन गर्दै उच्च माद्यमिक शिक्षा परिषद्का उपाध्यक्ष डा. हेम कुमार मिश्रले उच्च माध्यमिक तहलाई विश्वस्तरीय तथा गुणस्तरिय शिक्षा प्राप्त गर्ने थलोको रूपमा विकसित गर्न परिषदले परीक्षा संचालन,पाठ्यक्रम र अनुगमन प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभयो।
योजना तथा मुल्यांकन महाशाखा प्रमुख नारायण कोइरालाले नेतृत विकास तालिमले उच्च माध्यमिक तह संचालनमा देखिएका शैक्षिक र व्यवहारिक अनुभवहरु आदानप्रदान गर्न र समस्याहरु केलाउन मद्दत पुग्ने कुरामा जोड दिनुभएको थियो।
डमर कुमार बतासले संचालन गर्नुभएको कार्यक्रममा उमाशिप बुटवलका कार्यालय प्रमुख सुवास पन्तले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो।
बुटवल कालिका क्याम्पसको तालिम हलमा छ दिन सम्म संचालन हुने कार्यक्रममा उच्च माध्यमिक शिक्षा परिषद,शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञहरुले नेतृत्व विकास,शैक्षिक योजना निर्माण, समावेशी शिक्षा,द्वन्द व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण दिने उमाशिपले जनाएको छ।