उज्यालोको कतारमा नागरिक पत्रकारिता तालिम

दुई दिने नागरिक पत्रकारिता तालिम कतारमा सम्पन्न भएको छ । उज्यालो मल्टिमिडिया काठमाण्डौको आयोजना र नेपाल पत्रकार महासंघ कतार शाखाको स्थानीय ब्यबस्थापनमा दोहामा तालिम भएको हो ।
बिदेशमा नेपालीका गतिबिधि बढे पनि संचार माध्यममा तीनको पहुच नपुगेको भन्दै उज्यालो नाइण्टी नेट्वर्कले खाडी मुलुकहरुमा नागरिक पत्रकार उत्पादन गर्न तालिम आयोजना गरेको हो ।
अनलाईन बाट आवेदन भरी प्रशिक्षणमा भाग लिन पाउने प्रावधान अन्तर्गत सो नागरिक पत्रकारिता तालिम उज्यालो एफएमका सम्पादक तथा कार्यक्रम प्रस्तोता सुनिल न्यौपानेले दिएका थिए । 
सम्पादक तथा कार्यक्रम प्रस्तोता न्यौपानेले लेखन पत्रकारितामा आएको नवीन लेखन शैली तथा समाचारको विभिन्न विधा समेत ब्याख्या गर्दै लिखित, मौखिक तथा व्यवहारिक प्रशिक्षण दिएका थिए । यस अघि यस्तै प्रकृतिको नागरिक पत्रकारिता तालिम युएई र त्यसपछि कतारमा दिईएको हो । 
 
प्रवासमा रहेर पत्रकारिता गर्न ईच्छुकहरुलाई पत्रकारिता सम्बन्धी विशेष तालिमले आफुलाई खारिने मौका मिल्ने कुरा नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति रवि रोषीले बताउनुभयो । यस्तो महत्वपुर्ण अवसर प्रदान गर्ने उज्यालो मल्टी मिडिया लगायत प्रशिक्षकको रुपमा कतार आएका उज्यालो एफएमका सम्पादक सुनिल न्यौपानेलाई रोषीले धन्यवाद पनि व्यक्त गरे । नागरिक तालिमको सम्पुर्ण आर्थिक पक्ष उज्यालो मल्टिमिडियाले नै उपलव्ध गराएर सो कार्यक्रम गरिएको थियो ।
 
तालिममा सहभागी १२ जना प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघका सभापति रवि रोषीले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक निराजन भण्डारीले सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन भएको थियो ।