काठमाडौं, फाल्गुन ५ – अर्काको टिफिन खाएको भन्दै अनुशासन शिक्षकले पिट्दा काठमाडौंको एक बिद्यालयका बिद्यार्थीको कानको जाली फुटेको छ ।
स्वयम्भुको दि एक्सेलसिअर बोर्डिङ स्कुलका अनुशासन शिक्षक महेश मल्लले पिट्दा ७ कक्षामा अध्ययनरत सचिन बुढाथोकीको कानको जाली फुटेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साथीको टिफिन खाइदिएको बिषयमा मल्लले सचिनलाई गालामा थप्पड हान्दा कानको जाली फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी दयानिधी ज्ञवालीले बताए । उनका अनुसार बुढाथोकीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
बुढाथोकीका बुवा दिपेशका अनुसार बिद्यालयबाट घर आउँदा उनको गाला सुन्निएको थियो । राति कानबाट रगत बग्न थालेपछि अस्पताल लगिएको हो । छोरालाई पढ्न पठाएका थियौं, गल्तिको सजायँ दिने अन्य तरिका थिए, उनले भने, अब कान सुन्छ कि सुन्दैन थाहा छैन । उनले प्रहरीमा आफ्नो छोरालाई पिट्ने अनुशासन शिक्षकविरुद्ध उजुरी दिएका छन् । वृत्तका डिएसपी ज्ञवालीले मल्लको खोजी भइरहेको बताए । EKANTIPUR