निजगढ (बारा), फाल्गुन ५ – जंगली जनावरको बासस्थानमा कमी आएपछि हात्तीको निसाना बस्तीतिर पुगेको छ ।
कक्षेत्रीय वन निर्देशनालय हटौंडाका अनुसार पछिल्लो वर्षमा हात्ती आक्रमणबाट बारा, पर्सा र रौतहटमा १२ जनाले ज्यान गुमाएका छन् । मारिने सबै विपन्न परिवार र महिला बढी छन् ।
हात्ती आक्रमणमा मारिएका परिवार भने बिचल्लीमा छन् । ‘राहतले मात्र के हुन्छ, जीवनभरका साथी गुमाएर बालबाच्चा बिचल्लीमा छन्,’ डुमरवाना ४ की ललिता चौधरीले भनिन्, ‘राहत होइन, ज्यान जोगाउन कसरी सकिन्छ सरकारको ध्यान जानुपर्यो ।’ उनका पति जयनारायणको हात्ती आक्रमणमा ज्यान गएको थियो । सरकारले उनीहरूलाई ३/३ लाख क्षतिपूर्ति उपलब्ध गराएको छ ।
‘बासस्थान अतिक्रमण हुन थालेपछि हात्तीले मान्छे र बस्तीतिर निसाना बनाउँछन्,’ जिल्ला वनका अधिकृत मनबहादुर खड्काले भने, ‘हात्तीको उमेर सय वर्षभन्दा बढी हुने भएकाले प्रत्येक ५/६ वर्षमा आफ्नो पुरानो बासमा फर्किन्छ । बास नपाएपछि आक्रमण गर्छन् ।’ सम्भवत एउटा हात्तीले बारा र रौतहटका १० को ज्यान लिएको उनले बताए ।
हात्ती आक्रमणबाट लाखौंको घरसहित अन्नपात नोक्सानी भएको छ । जंगल आसपास गाउँमा आतंक मच्चाउँदै बालीनाली, बोटबिरुवा नष्ट गरी मान्छेमाथि आक्रमण गर्न थालेपछि त्यस्ता बस्तीमा त्रास फैलिन्छ ।
हात्ती भने अझै नियन्त्रणबाहिर छ । कतिपय ठाउँका आतंकले गाउँले रातभर जाग्राम बस्छन् । निर्देशनालयका अनुसार ३ जिल्लामा बर्सेनि सय/सय हेक्टर वन फँडानी हुँदै आएकाले यस्तो भएको हो ।
उनी भन्छन्, ‘यति मान्छेको अकालमा ज्यान जानुसँगै वन विनाश हुनु चानचुने होइन,’ सरकारले यसबारे ठोस नीति ल्याउनुपर्छ ।’ निर्देशनालयका अनुसार यस अवधिमा बारामा ६, रौतहटमा ४ र पर्सामा २ को ज्यान गएको छ । एकै परिवारमा २ जनाको ज्यान गएको थियो ।
रौतहट चन्द्रनिगाहपुर ८ का सरिफिया देवी, भसेडवा ६ का मनिताकुमारी पासवान र लक्षमिनियाँ ९ का बाबुछोरा गोविन्द र सुमध गिरीको ज्यान गएको छ । यसैगरी बारामा चारकोसे जंगलसँगै जोडिएका सपही गाविस ७ का सुरज चौधरी, उनका छिमेकी सुदर्शन चौधरी, देवकी आचार्य र शारदा शर्मा, डुमरवाना गाविस ४ का जयनारायण खाँ थारू, ककडी ८ की असनीदेवी थरुनीको ज्यान लिएको थियो ।
वीरगन्ज बस्ने शम्भुप्रसाद गुप्तालाई हात्तीले आक्रमणमा घाइते बनाएपछि उपचार क्रममा मृत्यु भएको पर्सा वन्यजन्तु आरक्षले जनायो । ‘हात्तीले सुरुमा घर भत्काउँदै अन्नपात नोक्सानी गर्छन् र पछि मान्छे मारेर जंगल पस्छन्,’ ककडीकी प्रत्यक्षदर्शी कलावती साहले भनिन्, ‘हात्तीले लखेटीलखेटी मार्छन् ।’ देवकीकी साढे २ वर्षीय नाति गंगाराज गुरागाईं हात्ती आक्रमणबाट घाइते भएका थिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन ५