बैंक तथा वित्तिय संस्थालाई व्याजदर अन्तर स्प्रेड दर ५ प्रतिशतभित्र राख्न सुझाव

काठमाडौं, फाल्गुन १९ । बैंक तथा वित्तिय संस्थालाई व्याजदर अन्तर स्प्रेड दर ५ प्रतिशतभित्र राख्न गभर्नर डा. युवराज खतिवडाले सुझाव दिएका छन् । चालु आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिको सोमबार अर्धवार्षिक समीक्षा गर्ने क्रममा बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षभित्र स्प्रेड दर ५ प्रतिशतमा सीमित गर्नुपर्ने भएकाले समयमै त्यतातिर लाग्न उनले सुझाव दिएका हुन् ।
प्रतिस्पर्धी बजारमा स्प्रेड दर अझै कम हुनुपर्नेमा केन्द्रीय बैंकले लचिलो भएर ५ प्रतिशत तोकेको उनले उल्लेख गरे । चालु आर्थिक वर्षको छैटौं महिनासम्म बैंकहरुको औसत व्याजदर अन्तर ७ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षको पौषमा कर्जाको भारित औषत व्याजदर ११ दशमलब पाँच तीन प्रतिशत र निक्षेपको ४ दशमलब छ आठ प्रतिशत रही व्याजदर अन्तर ६ दशमलब आठ पाँच प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांक छ ।
गभर्नर खतिवडाले आर्थिक क्रियाकलापहरु सन्तोषप्रद रहेको उल्लेख गर्दै साढें ५ प्रतिशतको लक्षित आर्थिक बृद्धिदर हासिल हुने देखिएको पनि उल्लेख गरे । बाली लगाउने समयमा पर्याप्त वर्षा भएका कारण कृषि उत्पादन राम्रो हुने देखिएको छ । साथै नयाँ सरकार निर्माणसंगै पूँजीगत खर्चमा बृद्धि भै विकास निर्माण कार्यले गति लिदै जाने अनुमानका आधारमा चालु आर्थिक वर्षमा उद्योग तथा सेवा क्षेत्रको क्रियाकलापमा केही सुधार हुने र आर्थिक बृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण केन्द्रीय बैंकले गरेको हो ।
मूल्य बृद्धि भने ८ प्रतिशतको सीमा भन्दामाथि साढे ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात, बैंकदर, वैधानिक तरलता अनुपात तथा पुनरकर्जादरहरु यथावत् कायम गरेको छ । अधिक तरलताको समस्याबारे अध्ययन भैरहेको र दीर्घकालीन प्रकृतिको अधिक तरलता व्यवस्थापन गर्न उपयुक्त उपकरण जारी गर्ने व्यवस्था मिलाउँदै लगिने समीक्षामा भनिएको छ ।
अधिक तरलताले पूँजी बजार अस्वाभाविक किसिमले अगाडि बढे मार्जिन लेन्डिङमा कडाई गर्ने संकेत पनि केन्द्रीय बैंकले गरेको छ । IMAGECHANNELS