दक्षिण एसियामै नेपालको मूल्यवृद्धि उच्च, अर्को वर्ष एसियाका २० मुलुकमध्ये सबैभन्दा धेरै महँगीदर बढ्ने

काठमाडौं, चैत्र १९ – चालू आर्थिक वर्ष नेपालमा दक्षिण एसियाकै उच्च मूल्य वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले बताएको छ ।  एसियन डेभलपमेन्ट आउटलुक नामक प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एडीबीले नेपालमा चालू आर्थिक वर्ष १० प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेको हो । यो राष्ट्र बैंक र सरकार दुवै गरेको प्रक्षेपणभन्दा बढी हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्य वृद्धि ८ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष लिएको छ ।
एडीबीको प्रतिवेदनअनुसार दक्ष्ािण एसियाली मुलुकको औसत मूल्यवृद्धि ६ दशमलव ४ हुनेछ, जसको झन्डै दोब्बर नेपालमा मूल्यवृद्धि पुग्नेछ । यही अवधिमा भारतमा ६, पाकिस्तानमा ९, बंगलादेशमा ७ दशमलव ५ र श्रीलंकमा ५ प्रतिशतको मूल्य वृद्धि हुने अनुमान एडीबीको प्रतिवेदनमा छ ।
एडीबीले आफ्नो प्रतिवेदनमा समेटेको २० एसियाली मुलुकमध्ये चालू वर्षमा नेपाल दोस्रो धेरै मूल्य वृद्धि हुने मुलुक बन्नेछ । एडीबीको रिपोर्टअनुसार एसियाली मुलुकमध्ये सबैभन्दा बढी ११ दशमलव ५ प्रतिशतको मूल्यवृद्धि काजकिस्तानमा हुनेछ । त्यसपछि दोहोरो अंकको मूल्य वृद्धि हुने मुलुक नेपाल मात्र हो । एक वर्षपछि भने नेपालले मूल्य वृद्धिमा १९ वटै मुलुकलाई उछिन्ने अनुमान एडीबीको छ । २०१५ मा काजिकिस्तानमा ८ दशमलव ८ र नेपालमा ९ दशमलव ५ प्रतिशत मूल्य वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा मूल्य वृद्धिलाई इन्धनको मूल्य वृद्धि, ज्याला वृद्धि, डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने प्रवृत्तिलगायतले असर गर्ने एडीबीले उल्लेख गरेको छ । ‘भारतमा हुने उच्च मूल्य वृद्धि, ऊर्जा संकट र आपूर्ति पक्षका अवरोधले पनि असर गर्नेछ,’ प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा एसियाली विकास बैंकका कन्ट्री मेनेजर केनिची योकोयामाले भने । सरकारले बजेटमार्फत निजामती कर्मचारीको तलब र भत्तामा गरेको वृद्धि र त्यसअघिको वर्ष कामदारको न्यूनतम ज्यालामा गरिएको वृद्धिले मूल्य वृद्धिलाई चाप दिने अनुमान एडीबीको छ । आगामी वर्ष पनि भारतको मूल्य वृद्धि कम भए र मौदि्रक/वित्तीय नीतिमा सवाधानी अपनाइए मूल्य वृद्धि केही घटेर ९ दशमलव ५ प्रतिशत हुन सक्ने अनुमान उसको छ ।
मूल्य वृद्धि नियन्त्रणमा राख्नु सरकारको प्रमुख चुनौती रहने एडीबीले बताएको छ । प्रमुख व्यापारिक साझेदार भारतको मूल्य वृद्धिका कारण नेपालमा पनि असर परिरहेको एडीबीले उल्लेख गरेको छ । सवारी साधनमा रहेको सिन्डिकेट र कृत्रिम मूल्य वृद्धिले पनि महँगीलाई सहयोग गरिररहेको उसले बताएको छ । यसका साथै अमेरिकी डलरको तुलनामा रुपैयाँ कमजोर हुँदा आयातित कच्चा पदार्थदेखि अर्धप्रशोधित वस्तुको मूल्य बढ्ने गरेको उल्लेख छ ।
आर्थिक वृद्धि सरकारी लक्ष्यभन्दा कम
चालू आर्थिक वर्षमा ४ दशमलव ५ प्रतिशतको मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण एडीबीको छ । यो प्रक्षेपण सरकारी अनुमानभन्दा कम हो । सरकारले चालू आर्थिक वर्षमा ५ दशमलव ५ प्रतिशतको वृद्धिदर हुने अनुमान बजेटमा गरेको छ । मौसम अनुकूलताका कारण कृषि उत्पादन बढ्ने र सेवा क्षेत्रमा देखिएको सुधारले चालू वर्षमा साढे ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने तर्क सरकारले गरेको छ ।
एसियाली विकास बैंकले भने सामान्य मनसुनी वषर्ा र रासायनिक मलको पर्याप्त आपूर्तिका कारण मुलुकको अधिकांश स्थानमा भएको रोपाइँ, समयमै आएको बजेटका साथै सकारात्मक राजनीतिक विकासका कारण आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत पुग्ने अनुमान गरेको छ । ‘उक्त आर्थिक वृद्धिदरका लागि मनसुन, रेमिट्यान्स आउने क्रममा देखिएको वृद्धि, समयमा आएको बजेट, राजनीतिक स्थायित्व र व्यवसायीमा आएको आत्मविश्वास सहयोगी हुनेछन्,’ योकोयामाले भने । एडीबीले रेमिट्यान्सका कारण आन्तरिक बजारमा बढ्ने माग र पर्यटन क्षेत्रको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको छ ।
एडीबीले आगामी वर्ष भने आर्थिक वृद्धिदर बढेर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । जसमा यस वर्षका कारणसहित घरजग्गामा आउने सुधार र भारतमा हुने आर्थिक वृद्धिको असर पनि थपिएको छ । चालू आर्थिक वर्षमा बाहिरी मागमा आएको सुधार र डलरको मूल्यका कारण निर्यातलाई फाइदा हुने प्रक्षेपण एडीबीको छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा लागत प्रतिस्पर्धामा लाभ हुने र त्यसले निर्यात ३ प्रतिशतले बढ्ने एडीबीको भनाइ छ । तर यही अवधिमा बढेको आन्तरिक मागले आयातलाई १५ प्रतिशत बढाउने उसले बताएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १९