काठमाडौं, वैशाख १३ । यस साता शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब १२ अंकले वृद्धि भई अन्तिम दिन ८ सय २१ दशमलब १९ अंकमा पुग्यो ।
यस साता कारोबार भएका मध्ये जलविद्युत समूह बाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । यस साता बीमा समूहमा सबैभन्दा उच्च २ सय २२ अंकको बृद्धि भयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीको एक अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरका २१ लाख ३६ हजार बराबर कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता १ सय ५२ कम्पनीको अर्ब २२ करोड ७२ लाख रुपैयाँ बराबरका ३० लाख २९ हजार कित्ता सेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा भने गत साताको तुलनामा १२ प्रतिशत बढिले कम हो ।
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड र कारोबार संख्याको आधारमा सामानिमामाई हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा चिलिमे हाइड्रोपावर कम्पनीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र नेपाल बंगालदेश बैंकले क्रमशः पच्छ्याउन पुगे । यस साता चार दिन मात्रै कारोबार भएको थियो । IMAGEKHABAR