भक्तपुर, २६ बैशाख – क्षयारोग र क्षयरोग नियन्त्रणमा विद्यार्थीहरुको सरोकार भन्ने विषयमा शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा मनकामना इङ्गलिस सेकेण्डरी स्कूलका छात्रा ईसीका आचार्य प्रथम भएकी छिन् ।
नेपाल क्षयरोग निवारण संस्था र जिल्ला विकास समिति भक्तपुरको साझेदारी कार्यक्रम अन्तर्गत संचालित क्षयरोग नियन्त्रण कार्यक्रममा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा भक्तपुरका १० विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
भक्तपुरमा क्षयरोग नियन्त्रण गर्न विद्यार्थीहरुको ठूलो भूमिका हुने भएकोले विद्यालयस्तरीय कार्यक्रमलाई प्राथमिकता दिई कार्यक्रम संचालन गरेको साझेदारी कार्यक्रमका संयोजक महेन्द्रलाल कायस्थले बताउनु भयो ।
शान्ति निकेतन मा.वि.का प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा क्रमशः कन्या सहशिक्षा माध्यमिक विद्यालयका छात्रा सर्मिला पौडेल द्वितीय, मिर्नावा इङ्गलिस स्कूलका छात्रा अञ्जु कुरुजु तृतीय र सूर्योदय इङ्गलिस सेकेण्डरी स्कूलका छात्रा मिनु गोसाई सान्त्वना भएका छन् । विजयी विद्यार्थीहरुलाई प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।