नेपाल पर्यटन बोर्डविरुद्ध पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि पर्यटन मन्त्रालयले छानबिन समिति गठन गर्‍यो

काठमाडौं, वैशाख २८ । नेपाल पर्यटन बोर्डविरुद्ध पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि पर्यटन मन्त्रालयले छानबिन समिति बनाएको छ । आज बसेको मन्त्रिस्तरीय बैठकले सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।


समितिमा अर्थ मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका लेखा अधिकृत सदस्य रहेको प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए । समितिले बोर्डको सम्बन्धमा उठेका विषय, उजुरी, विनियमावलीलगायत विषयमा अध्ययन गर्ने छ ।


समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । बोर्डभित्र आर्थिक अनियमितता भएको, बोर्डको नियमावली संशोधन गराउनुपर्ने लगायतका माग राख्दै पर्यटन व्यवसायसँग सम्बन्धित करिब २ दर्जन संघ संस्था आन्दोलित छन् ।

व्यवसायीले बोर्ड घेराउ गर्ने, अन्तरक्रिया गर्ने, टिम्स कार्ड वितरण बन्द गर्ने जस्ता आन्दोलन गर्दै आएका छन् । छानबिन समिति बनेकाले उक्त समितिलाई निष्पक्ष ढंगले काम गर्न दिनका लागि आन्दोलन फिर्ता लिन मन्त्रालयले व्यवसायीहरुलाई आग्रह गरेको छ । IMAGEKHABAR