वीरगन्ज – मजदुर अभावका कारण समयमा उखुखेती गर्न नसकिरहेका कृषकले अब भने चिन्तित हुनुपर्ने अवस्था रहेन । राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जितपुरले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याएपछि उखु कृषकको चिन्ता हट्ने स्थिति देखिएको हो ।
कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउनेखालको उक्त मेसिनबाट प्रतिघन्टा एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सकिने दाबी कार्यक्रमले गरेको छ । यसको प्रयोगबाट उखु रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान कार्यक्रमको छ ।
यस क्षेत्रका किसान, उखु अनुसन्धानकर्ता, प्राविधिक, चिनी मिलका प्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा पहिलोपटक बाराको जितपुरस्थित उखुबाली अनुसन्धान कार्यक्रम परिसरमा उखु रोप्ने उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरियो ।
भारतको उत्तरप्रदेशस्थित गोविन्द इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको यो उपकरणले उखु रोप्ने नाला बनाउने, काटेर उखुको बीउ रोप्ने, मल झार्ने, माटो तथा बीउमा लाग्नसक्ने रोगको नियन्त्रणका लागि विषादी छर्ने र उखुको बीउ माटोले छोप्ने कार्य एकैसाथ गर्छ ।
यो उपकरणको मूल्य नेपालमा झन्डै तीन लाख पर्ने उक्त उपकरणका अधिकृत विक्रेता ओएनएस ट्रेड लिङ्क प्रालि काठमाडौँले जनाएको छ ।
परम्परागत तरिकाबाट उखुखेती गर्दा बीउका लागि उखु काट्ने, उखु रोप्नका लागि नाला बनाई त्यसमा बीउ राख्ने, त्यसलाई माटोले छोप्ने, मल र विषादी छर्ने कार्यका लागि एक दिनमा प्रतिकठ्ठा ५-६ जना मजदुर लाग्नेमा यो प्रविधिबाट खेती गर्दा दुईजना मजदुरले एक घन्टामा मात्र एक हेक्टर क्षेत्रफलमा उखु रोप्न सक्ने राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।
मुलुकमा हाल ६४ हजार हेक्टरमा उखुखेती भइरहेको छ । SETOPATI