दशौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न

५ जेठ, २०७१, काठमाण्डौं – नेपाल पन्छी संरक्षण संघबाट संरक्षणविद्हरुको एक टोलीले तराईको पूर्व(पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणघाटबाट शुरु गरी कञ्चनपुर जिल्लाको गड्डाचौकी सम्म ६३८ कि.मि.को लामो राजमार्गमा गिद्धको दशौँ वार्षिक सर्भे सम्पन्न गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग(नेपाल, र आरएसपिवि (च्क्एद्य), यू.के.को सहयोगमा यो सर्भे गरिएको हो । यसपालिको सर्वेक्षणमा ६८ वटा डंगर गिद्ध देखिएका थिए जुन गत सालको संख्या भन्दा बढी हो । सन् २००२ मा करिव २०५ वटा गिद्धहरु भेटिए पनि सन् २००९ मा घटेर ५५ वटाको संख्यामा झरेको संरक्षणविद्हरुको भनाई रहेको छ । संरक्षणविद्ले पश्चिम नेपालमा सन् २००९ देखि डंगर गिद्धको संख्या स्थिर रहेको ठोकुवा गरिरहेका छन ।
यो सर्वेक्षण अंग्रेजी महिना मे २ देखी सुरु गरी १६ गतेको दिन सम्पन्न गरिएको हो । यस कार्यको लागि प्रयोग गरिने गाडी २० कि.मि. प्रति घण्टाको गतिमा चलाईन्छ र राजमार्गको दुवैतिर १,००० मिटरको दुरी सम्म देखिएका गिद्धहरुको पहिचान गरी रेकर्ड राखिन्छ । यसपालिको सर्वेक्षण  पूर्व(पश्चिम राजमार्गका अलावा उत्तरी पहाडी क्षेत्रमा अवस्थित जिल्लाहरुका मार्गहरु जस्तै: अत्तरीया- डोटी- डडेलधुरा-बैतडी- दार्चुला, लमही- तुल्सीपुर- सल्यान- रुकुम, भालुवाङ्ग- प्यूठान- रोल्पा, प्यूठान- अर्घाखाँची- गुल्मी- पाल्पा लाई पनि समेटेको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण अधिकृत तथा सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता खडानन्द पौडेलले बताउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ मा गिद्ध संरक्षण कार्य योजना लागु गरे लगतै, नेपाल पन्छी संरक्षण संघले  समुदायमा आधारित भएर पश्चिम नेपालमा त्यस कार्य योजनालाई सफलतापुर्वक लागु गर्न मद्धत गरेको नेपाल पन्छी संरक्षण संघकी वरिष्ठ संरक्षण अधिकृत ईशाना थापा भन्नुहुन्छ । नेपाल पन्छी संरक्षण संघले सन् २००६ देखि स्थानीय समुदायको पहल र सक्रियतामा गिद्ध सुरक्षित क्षेत्रको शुरुवात गरेको छ ।
 
दक्षिण एशियामा सन् १९९०को दशक देखि गिद्धको संख्या नाटकिय ढङ्गबाट घटिरहेको थियो । यस्तै, नेपालमा गरिएको अनुसन्धानले पनि उक्त अवधिमा डंगर गिद्धको संख्या ९१५ ले घटेको खडानन्द पौडेल बताउनुहुन्छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा परेका छन । गिद्ध घट्नुमा ब्यापक पशु उपचारमा प्रयोगमा रहेको डाईक्लोफेनेक नै प्रमुख कारक तत्व बनेको छ भने गिद्धलाई हानी नगर्ने डाईक्लोफेनेकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको मेलोक्सिक्याम उत्पादन भैसकेको छ । पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिवन्धित भए पनि दक्षिण एशियामा यसको कारण अझै पनि गिद्ध हस भएका छन । 
सबैको सहकार्य र एकतामा पशु उपचारमा डाईक्लोफेनेको प्रयोग निर्मुल पारे मात्र यी लोपोन्मुख प्रजातिको संरक्षण हुन सक्ने पौडेलको  तर्क छ र यसकार्यमा सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध पनि गर्नु भएको छ ।

अन्य समाचारहरु