आम्स्टर्डम घोषणा पत्र जारी गर्दै जनसम्पर्क हरुको यूरोपेली भेला सम्पन्न, जनसम्पर्क समिति युरोपको आगामी अधिबेशन तय

अमित कार्की/आर.के.सुबेदी/ने.ज.स. मिडिया ग्रुप
२८ मे २०१४ । आमस्टर्डाम, नेदरल्यान्डस् – नेपाली जन-संपर्क समितिहरुको यूरोपेली क्षेत्रिय भेला नेदरल्यान्डस् को राजाधनी आमस्टर्डाममा सम्पन्न भएको छ। नेपाली जन-संपर्क समिती नेदरल्यान्डस् को पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर गरिएको उक्त भेलामा यूरोपका बिभिन्न क्षेत्रमा बसोबास गर्ने जनसम्पर्क समिति हरुका प्रतिनिधि तथा कार्यकर्ता हरुका अतिरिक्त नेपालबाट बिशेष सम्बोधन का लागि आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा: प्रकाश शरण महत एवम् बिशेष उपस्थितिको रुपमा नेपाली कांग्रेस ट्रेड युनियन महासंघका उपाध्यक्ष्य रामजी कुँवर तथा महासचिब महेन्द्र यादव र जनसम्पर्क समिति युरोपका अध्यक्ष श्री दिल गुरुङ आदिको उपस्थिती रहेको थियो। 
मुख्यत: चार चरणमा भएको उक्त कार्यक्रमको पहिलो चरण सम्बोधन सत्र, दोस्रो चरण बन्द सत्र, तेस्रो चरण नेपाली जनसम्पर्क समिति नेदरल्यान्डस् को साधारण सभा सत्र र चौथो चरण समूह छलफल सत्रको रुपमा गरिएको थियो ।भेलामा  बोल्ने बिभिन्न राष्ट्रहरुबाट आएका अधिकांश जनसम्पर्क समितिका प्रतिनिधी, प्रमुख अतिथी, बिशेष अतिथी एवम् अन्य वक्ताहरुले आ-आफ्नु धारणाहरु राख्दै “नेपाली जन-संपर्क समितीहरु युरोपको  आव्हान ; आर्थिक सम्रिद्धी, लोकतन्त्र र एकताको अभियान” भन्ने यस सम्मेलनको नारा लाई कार्य रुपमा परीणत गर्नु पर्ने कुरामा जोड दिएका थिए।  
                                            कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा:महतले बिगतमा माओबादी हरुले गरेको गल्तिको बिस्तारै महसुश गर्दै गएकोले संबिधान बन्नेमा आशा जागेको बताउदै निर्धारित समयमै लोकतान्त्रिक संबिधान दिने प्रतिबद्दता ब्यक्त गर्नुभो । नेपालमा काँग्रेसको नेतृत्वमा सरकार बने लगत्तै बिदेशीहरु नेपालमा बढी भन्दा बढी लगानी गर्न इच्छुक रहेको जनाउदै विदेशमा रहने नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भयो ।क्षेत्रीय स्तरमा जनसम्पर्क समिति हरुको महत्व र आबस्यकता अझै बढ्दै गएको बताउदै महतले आभ्यास बाटै सबैकुरा बिधानमा समेटिने हुनाले जनसम्पर्क समिति युरोप लाइ सबै मिलेर सर्बसम्मत निर्णय र ब्यबस्थित तरिकाले केन्द्रमा लागेमा केन्द्रले बिधानमा समेट्ने बताउनु भयो । कार्यक्रममा बोल्दै बिशेष अतिथि रामजी कुँवरले  नेपाली जनसम्पर्क समिति हरु बिच आगामी दिनमा अझै एकता र सहकार्य को आबस्यकता रहेको जनाउदै जनसम्पर्क समितिलाई सबै प्रबाशी नेपाली हरुको साझा सस्था बनाउन सबै एक भएर लाग्न आग्रह गर्नु भयो ।दोहोरो नागरिकताको बिषयमा नेपाली काँग्रेस सकारात्मक रहेको बताउदै उहाले यसलाई मुर्त रुप दिन कांग्रेसको तर्फ बाट सक्दो पहल गर्ने जनाउनु भयो  ।ट्रेड यूनियनका महासचिब महेन्द्र यादबले सम्बृद्ध मुलुकमा बसेका नेपाली हरुले विदेशमा सिकेको ज्ञान र आर्जेको धन नेपालको विकासमा खर्चिनु पर्नेमा जोड दिनु भयो । यसैगरी जनसम्पर्क समिति युरोपका अध्यक्ष श्री दिल गुरुङले आगामी दिनमा यूरो काँग्रेसको विवादलाइ बल्झाउनु भन्दा सहमतिमा अगाडी बढ्नु पर्ने बताउदै देश बिकासमा जुट्नु पर्ने महत्वपूर्ण क्षणमा विवाद गर्नु दुर्भाग्य भएको भन्दै बहसलाइ अनाबस्यक रुपमा सामाजिक संजाल हरुमा पोख्न नहुने बताउनु भयो यसैगरी एजेन्डा निर्माण तथा रणनिती निर्माण समितीका संयोजक शशि पौडेलले जनसम्पर्क समितिहरुको विश्वब्यापी संजाल र क्षेत्रीय समितिहरुको आबस्यकता रहेको बताउदै जनसम्पर्क समितिहरुको सस्थागत विकास को लागि प्रभावकरी तथा रचनात्मक तरिकाले सबै जनसम्पर्क समितिहरु बिच एक आपसमा सहकार्य र एकता हुनुपर्ने मा जोड दिनुभयो । कार्यक्रममा एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष नारायण आचार्य,नेपाल विकास एकेडेमीका प्रमुख तथा एनआरएनका केन्द्रिय सल्लाहकार शशि पौडेल,जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार हरि पौडेल,ने.बि.संघ केन्द्रिय सदस्य सरोज केसी,एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ,एनआरएन स्पेनका अध्यक्ष एकराज गिरि,एनआरएन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ,जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष दिपकराज रिजाल,जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबाश जोशी लगायतका बक्ता हरुले आआफ्नो भनाइ तथा विचार राख्नु भएको थियो ।  
          कार्यक्रमको दोर्सो बन्द सत्रमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको बार्षिक आर्थिक प्रतिबेदन कोषाध्यक्ष युबराज पन्थीले पढेर सुनाउनु भएको थियो भने संगठनिक प्रतिबेदन महामन्त्री उत्तम कंडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको तेर्सो सत्रमा जनसम्पर्क समिति हरु युरोपको भेला संचालन गरिएको थियो । उक्त भेलामा विभिन्न बिषय हरु माथि फरक फरक समूह बनाइ छलफल र अन्तरक्रिया गरिएको थियो ।उक्त छलफल र अन्तरक्रियापछि  बिभिन्न महत्वपूर्ण निर्णयहरु र भावी कार्यक्रमहरुको योजना तर्जुमा गर्दै यूरोपमा छरिएर रहेका सम्पूर्ण नेपाली जनसम्पर्क समिति हरुलाई एकताको सुत्रमा बाधेर एकजुट बनाउने, युरो-कांग्रेसलाई निरन्तरता दिदै यसको आगामी महाधिबेसन स्पेनको बर्सिलोना मा आगामी नोभेम्बर २९ र ३०  मा गर्ने जस्ता निर्णयहरु समेटिएको “आम्स्टर्डाम घोषणापत्र” सार्वजनिक गरेकोछ।उक्त भेलाले नेपाली जनसम्पर्क समिति युरोपको बैधानिकता र आगामी अधिबेशन सम्पन्न गर्नको लागि केन्द्र संग समन्वय गर्नको लागि दिल गुरुङ संयोजक रहेको एक समिति गठन गरेको छ ।यसैगरि जनसम्पर्क समिति हरुको सस्थागत विकासको लागि एकराज गिरि,नेपाली जनसम्पर्क समिति,काँग्रेस र बैधानिक सवालको लागि भिम कमल केसी र जनसम्पर्क समितिको कोष तथा परोपकारी कोष निर्माण को लागि देबेन्द्र शर्मा संयोजक रहने गरि फरक फरक कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा युरोप भरिका सम्पूर्ण जनसम्पर्क समितिहरुको प्रतिनिधित्व हुने गरि सदस्य हरु थपिने जनाइएको छ । कार्यक्रमको अन्तमा लोकप्रिय गायक राम चन्द्र काफ्ले र गयिका जुनु रिजाल आदिको संगीतिक प्रस्तुतीले सबैलाई नचाएको थियो । 
कार्यक्रम लाइ समापन गर्दै आयोजक राष्ट्र नेदरल्यान्डस् का जन-संपर्क समिती अध्यक्ष दिपक रेग्मीले कार्यक्रममा सहभागी सम्पूर्ण लाई धन्यवाद दिदै चालु पाँचौ साधारण सभा र युरोपेली क्षेत्रिय भेलाको अन्त्य भएको जानकारी गराउनुभएको थियो।