बाजुरा, जेष्ठ २२ – गाउँको निजी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भई सिकिस्त भएकी जुकोटकी सुकी महतरालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले उपचारका लागि नेपालगन्ज पठायो । मेडिकलबाटै औषधि किनेर सेवन गर्दा कोटिलाकी राजुदेवी आउजीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गर्नुपर्यो । यी त प्रतिनिधि घटना मात्र हुन् । बाजुराका गाउँघरमा असुरक्षित गर्भपतन गराउँदा देखिने स्वास्थ्य समस्या दिनहुँजसो चर्चामा आउने गरेका छन् ।
छिमेकी जिल्ला अछाममा पनि असुरक्षित गर्भपतनको समस्या जटिल छ । बयलपाटा अस्पतालमा दैनिकजसो गर्भपतनपछि उत्पन्न समस्याका बिरामी आउने गरेका छन् । गाउँकै मेडिकलबाट गर्भपतनको औषधि सेवन गर्दा गत वैशाखमा नन्देगडाकी एक महिलाको मृत्यु भएको अस्पतालका स्वास्थ्य सहायक तारामान कुँवरले जानकारी दिए । ‘गर्भपतनका लागि जथाभावी औषधि सेवन गरेर जोखिममा परेपछि उपचारका लागि आउने महिलाको संख्या उल्लेख्य छ,’ उनले भने । बझाङमा पनि असुरक्षित गर्भपतनको समस्या जटिल रहेको जिल्ला अस्पतालले जनाएको छ । ‘निजी मेडिकलबाट औषधि सेवन गरेर जोखिममा परेपछि मात्र अस्पतालमा आउँछन्,’ जिल्ला अस्पतालका डा. नीरज सिंहले भने, ‘पैसा कमाउने उद्देश्यले निजी मेडिकलका सञ्चालकले गुपचुपमा धन्दा चलाएकाले समस्या भइरहेको छ ।’ अत्यधिक रक्तस्राव भएर अस्पतालमा पुग्दा महिलालाई जोगाउनै मुस्किल हुने गरेको अछाम जिल्ला अस्पतालकी स्टाफ नर्स सुशीला ढुंगानाले बताइन् ।
दक्ष चिकित्सकले १२ साता र नर्सिङ स्टाफले ९ महिनाको मात्र गर्भपतन गराउन पाउने कानुनी प्रावधान छ । गाउँघरका मेडिकल सञ्चालकले त्यसका लागि मिसोप्रोस्टोललगायतका ट्याब्लेट बिक्री गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्ता औषधि भारतका सीमावर्ती बजारहरू गौरीफन्टा, वनबासा, रुपैडिहा लगायतबाट डेढ/२ सयमा खरिद गरी १ देखि ३ हजारसम्ममा बिक्री गर्ने गरेको थाहा पाएको टाँटे स्वास्थ्यचौकीका इन्चार्ज विष्णु जैसीले बताए । असुरक्षति गर्भपतनले अत्यधिक रक्तस्रावबाहेक पाठेघर खस्ने, क्यान्सर हुने र महिलाको मृत्यु हुने जोखिम रहने चिकित्सकहरू बताउँछन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ जेष्ठ २२