उमाकान्त पाण्डे/ दुबइ यूएई , असार २ – सयुत्त अरब एमिरेट्स यूएईमा रहेका बिभिन्न समस्या प्रती चासो राख्दै नेपाली एकता समाज र जनप्रगतीशिल मोर्चा यूएईले यहाँका लागि नेपाली दुतावास आबुधाबी समक्ष सम्युत रुपमा ज्ञापन पत्र बुझाएका छन ।
बैदेशिक रोजगारीका नाममा मजदुरहरु माथि हुने ठगि दलाली र मानव तस्करीले गर्दा बैदेशिक रोजगार अत्यन्त जोखिमपूर्ण बन्दै गैरहेको भन्दै श्रमिकहरुले विभिन्न बिषयहरुमा भोगिरहेका समस्याहरुको पहिचान गरि न्युनिकरण र समाधानका लागि ज्ञापन-पत्र बुझाईएको हो ।
राष्ट्रिय जनमोर्चाको अन्तराष्ट्रिय भात्री सस्थाको रुपमा नेपाली एकता समाज रहेको छ भने नेकपा-माओवादीको बिदेश स्थित प्रवास संगठनको रुपमा जनप्रगतीशिल मोर्चा स्थापीत छन ।
ज्ञापन पत्रमा प्रवासमा भएका नेपाली नियोग तथा दुतावासबाट वितरण गरिने एमआरपी बनाउन गएका नेपाली मजदुरहरुले दुतावासका कर्मचारीहरुबाट दुरब्यबहार हुने गरेको उल्लेख छ । त्यस्तै ज्ञापनपत्रमा समयमा एमआरपी उपलब्ध हुन नसकेका कारण धेरै नेपालीले जागिर गुमाउनु पर्ने समस्या प्रती चासो राख्दै समस्या समाधानका लागि प्रभावकारी पहल गर्न माग गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीहरुले नक्कली श्रम सम्झौता बनाउने र वैदेशिक रोजगार विभागदेखि अध्यागमन विभागसम्म सेटिङ्ग मिलाएर कामदार पठाउने गर्नाले नेपालीहरु ठगिइरहेका भन्दै उक्त कार्य रोक्न दुतावास मार्फत नेपाल सरकारको नियमन गर्ने निकायलाई सचेत पार्न माग गर्दछौ भनिएको छ ।
यूएईमा सकृय नेपाली सामाजिक संघसंस्था र दुतावास वीच सुमधुर र प्रभावकारी समन्वय गर्नको लागि दुतावास समक्ष माग गरिएको छ । त्यस्तै सम्बन्धित देशमा गएका कामदारहरुले आफन्तहरुलाई भीसा निकालेर ल्याउनको लागि वंशनै हुनुपर्ने बाध्यताकारी प्रावधानलाई खुकुलो बनाई नाता प्रमाणित हुन सक्ने अवस्थासम्म आफन्तहरुलाई ल्याउन सक्ने व्यवस्था गर्नको लागि नेपाल सरकार समक्ष माग गरिएको छ ।
खाडीमा काम गर्ने लाखौ प्रवासी श्रमिकहरुलाई समेत जवरजस्ती रुपमा “गैरआवासीय नेपाली” को बिल्ला भिराएको भन्दै नियमावलीबाट सो प्रावधान हटाउन नेपाल सरकारसग जोडदार माग गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।
यूएईमा हत्या आरोपमा मृत्युदन्ड पाएका दार्चुलाका अमर बहादुर बमको रक्षार्थ पहल गरिदिन समेत माग गरिएको ज्ञापन पत्रमा दुतावासमा कर्मचारी अभावका कारण नेपाली श्रमिकहरुका समस्या समयमै समाधान हुन नसकेको भन्दै आबश्यक कर्मचारीको ब्यबस्था गरिदिन समेत नेपाल सरकार सँग माग गरिएको छ ।
ज्ञापन-पत्र बुझ्दै यूएईका लागि नेपाली राजदुत धननज्य झाले समस्या समाधानका लागि आबश्यक पहल गर्ने र सम्बन्धित निकाय मार्फत समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्दता जनाएका थिए । ज्ञापन-पत्रमा समावेस गरिएका सबै बुदालाई राजदुत स्वयमले आँफै पढेर प्रत्येक बिषयमा तत्काल जबाफ दिएका थिए ।
मोर्चाको तर्फबाट कार्यबाहक अध्यक्ष साहस न्यौपाने र एकता समाज यूएईको तर्फबाट अध्यक्ष कृष्ण केसीले संयुत्त हस्ताक्षर गरेको १३ बुद्दे संयुत्त ज्ञापन पत्रलाई गत आइतबार राजदुत समक्ष बुझाईएको हो । दुतावास मार्फत बुझाईएको ज्ञापन पत्रको बोधार्थमा नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, श्रम तथा रोजगार मन्त्रालय,बैदेशिक रोजगार विभाग, तथा नेपाल पत्रकार महासंघ लाई समेत राखिएको छ ।