रुकुम, असार ३ – अत्याधिक रक्तश्राव भएर रुकुमकोटकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुकुमकोट -२ ढकालबाराकी १८ वर्षीय गीता रावत केसीको सुत्केरीपछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो ।
कार्यालयका अनुसार मंगलबार बिहान घरमै सुत्केरी भएर जुम्ल्याहा बच्चा जन्माएकी केसीको प्रसुती भएको ८ घन्टा नबित्दै मृत्यु भएको हो । घरमै प्रसुती भएपछि अत्यधिक रक्तश्रावका कारण उनको स्थिति जटिल बनेको थियो । स्वास्थ्य स्थिति गम्भीर बनेपछि उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मानबहादुर केसीले जनाए ।
उनले यहाँका गा्रमीण स्तरका महिलाहरुलाई घरमै प्रसुती गराउने चलन बढि भएकाले सुत्केरी महिलाहरुको ज्यान जाने गरेको जनाए । स्वास्थ्य स्थिति गम्भीर भएपछि मात्र सुत्केरी महिलाहरुलाई अस्पतालमा ल्याउने चलन रहेकाले मातृ मृत्युदर उच्च रहेको जानकारी दिए । ‘सानो उमेरमा बच्चा जन्माइएको र घरमै सुत्केरी भएकाले उनको ज्यान गएको हो,’ विशेषज्ञ डा. केसीले भने, ‘समयमै स्वास्थ्य संस्थामा महिलालाई पुर्याइएको भए उनको ज्यान बच्न सक्थ्यो ।’
महिलाले एक छोरा र एउटी छोरीलाई जन्म दिएकी थिइन् । जिल्ला अस्पतालका अनुसार अहिले दुबै शिशुको स्वास्थ्य सामान्य छ । दुबै शिशुलाई चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ असार ३