नाइजेरियामा अलपत्र नेपालीको उद्धारमा ढिलाई

मानव तस्करको संजालले ४ महिनाअघि नाइजेरियाको लेगोस पुर्याएर अलपत्र पारेका ४ नेपालीको उद्धारमा ढिलाइ भएको छ । यी ४ जनालाई घरफिर्तीका लागि अर्न्तराष्ट्रिय आप्रवासन संगठन(आइओएम)ले हवाइ टिकट सहितको सहयोग दिने भनेपनि अझै तदारुकता देखिएको छैन । आइओएम काठमाडौं र नाइजेरियाले यसमा समन्वय गर्ने भनिएपनि उद्धारमा कुनै पहल भएको छैन । अहिलेसम्म नाइजेरियास्थित गैर आवासीय नेपालीले आवश्यक खर्च र अरु सहयोग दिएका भरमा उनीहरु लेगोसमा बसिरहेका छन् ।  
नेपाली सेना तथा प्रहरीका पूर्व जवान भएकैले १५ सय डलर मासिक तलबसहित सुरक्षागार्डमा सजिलै काम पाइने भन्दै ३ महिनाअघि लेगोस लगिएका नेपालीको पर्यटक भिसाको म्याद सकिएकाले थप अलपत्र बनेका छन् । गैर आवासीय नेपाली संघ, अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाका अनुसार इकेजास्थित एयरपोर्ट रोडको डिभाइन फाउन्टेन होटलमा राखिएका यी चार जनालाई दिल्लीको बाटो हुँदै नाइजेरिया पुर्याइएको हो । जनही बढीमा ६ लाख रुपैयाँ दलाललाई बुझाएर अफ्रिकी असुरक्षित गन्तव्यमा आइपुग्नेमा पर्साका नवराज पाण्डे, चितवनका प्रेमबहादुर गुरुङ, गोर्खाका राजिव थापा मगर र धादिङका सुव्बा गुरुङ छन् । यी चारै नेपालीलाई इकेजास्थित होटलमा गएर आफूले भेटेको र तत्काल खाना तथा फोन गर्ने खर्चस्वरुप १० हजार नायरा सहयोगमा दिएको थापाले जानकारी दिए ।
आफूलाई एजेन्टहरु रविन गुरुङ(दिल्ली) र मनोज श्रेष्ठ(दुबइ) मार्फत नाइजेरिया ल्याएर अलपत्र बनाएको र आफूहरु बसेको होटलमा मात्रै झण्डै ५ लाख नाइरा(२ हजार डलर) खर्च बुझाउन बाँकी रहेको उनीहरुले जानकारी दिएका छन् । उनीहरुलाई एजेन्ट रविनको भाइ सुमन गुरुङले ल्याएर लेगोसमा छाडेका थिए ।
एजेन्टको स्थानीय तहमा अब्दुल्लाह नामको व्यक्तिले सहयोग गरिरहेको पीडितले बताएका छन् । संयोजक थापाले अलपत्र नेपालीको घरपरिवारमा सम्पर्क गरेर उनीहरुलाई सुरक्षित घर पठाउने पहल भैरहेको बताउँदै तर भिसा शुल्क, टिकट, होटल खर्चसहित झण्डै १२ लाख रुपैंयाको जोहो गर्न समय लाग्न सक्ने बताए । अहिले दिल्लीदेखि स्थानीय तहका एजेन्टहरु सम्पर्क बाहिर छन् ।