साउदीमा नेपाली महिलालाई टाउको काटी मृत्युदण्ड

shova
दोहा (कतार), श्रावण २१ – घरेलु महिला कामदार (हाउसमेड) को रुपमा साउदी पुगेकी तनहुँका ३२ वर्षीया शोभा परियारलाई स्थानीय प्रशासनले सोमबार मृत्युदण्ड दिएको छ । साउदी सरकारले नेपालीलाई मृत्युदण्डको फैसाला कार्यन्वयन गरेको यो पहिलो पटक हो ।
भिमाद-५, तनहुँकी परियारले आफू काम गर्ने मालिक्नीको २ बर्षे छोरीलाई हत्या गरेको मुद्दामा सुनुवाई गर्दै एक महिनाअघि साउदीको अदातलले मृत्युदण्डको फैसला सुनाएको थियो । नेपाली दुताबासका अनुसार परियारको शब पनि नेपाल नजाने भएको छ ।
‘नेपाली महिला शोभा परियारलाई टाउको काटी मृत्युदण्ड दिइएको यहाँको गृहमन्त्रालयले जनाएको छ’, साउदीको लागि नेपाली राजदुत उदयराज पाण्डेले ईकान्तिपुरलाई भने,’उहाँलाई बचाउन दुताबासले धेरै प्रयास गरेका थियौं । मालिक्नीले क्षमा नदिने अडान राखेपछि स्थानीय प्रशासनले मृत्युदण्ड दिने फैसालाको कार्यन्वयन गर्नुपर्‍यो ।’
आफुमाथि मालिक्नीबाट यातना भएपछि बच्चाको हत्या गर्न पुगेको बयान परियारले दिएकी थिइन । परियारले नेपाली दुतावाससमक्ष हत्याको अभियोग स्वीकार गर्दै २०१२ नोभेम्मर मा तीन पेजको लिखित बयान दिएकी थिइन । ‘सधै मालिक्नीले यातना दिन्थीन । २०१२ जुलाई २८ मा बिहान सुतिरहेको अबस्थामा मालिक्नीले आएर पिट्दै काममा लगाइन । ‘बिहान साढे ६ बजेतिर दुई बर्षे छोरोलाई नुहाउन बाथरुम लिएर गएँ’, उनले बयानमा लेखेकी छिन्,’निकै तनाबमा थिइन् । आबेगमा आएर बच्चाको हत्या गरिदिए । जुन मैले गर्छु भन्ने सोचेको थिइनँ ।’
उनले तीन वटै अदालतमा हत्या स्वीकार गरेकोले निर्णय छिटो भएको राजदुत पाण्डेले भने । ‘सबैभन्दा तल्लो अदालतले मृत्यु दण्डको सजाय सुनाएको थियो । त्यसलाई माथिल्लो दुई अदातलले सदर गर्दै राजाकोमा पेश गरियो’, उनले भने,’राजाले पनि त्यसलाई सदर गरिदियो ।’
साउदीको राजधानी रियादबाट १३ सय किलोमिटर टाढा पर्ने अररमा परियार काम गर्थिन । पाण्डेले परिवारलाई माफी दिलाउनको लागि अररका गर्भनरलाई भेट्न समेत गएको बताए । ‘सिरिया कानुन अनुसार पीडित पक्षबाट माफी नदिएसम्म कसैले केही गर्न सक्तैन । त्यसकारण परिवारलाई मनाइदिन भन्दै त्यहाँको प्रशासन प्रमुख -गर्भनर)लाई भेट्न गएँ’, पाण्डेले भने,’गर्भनरले पनि परिवारलाई बोलाएर क्षमा दिन आग्रह गर्नुभयो । जे माग्छ त्यही दिन्छु भन्नुभयो । तर, पीडित परिवारले छोरो नै चाहिने बताएपछि केही हुन सकेन ।’
राजदुतका अनुसार गर्भनरबाट पछि पनि पटक पटक पहल भएपनि परिवारले मृत्युदण्ड हुनु नै पर्ने अडान दोहोर्‍याए । ‘सकिन्छ भने छोरो दे । होइन भने मृत्युदण्ड दे’, परिवारले गर्भनरलाई भने,’मृत्युदण्डबाट मात्रै न्याय मिल्छ ।’
शोभा २०११ अपि्रल भारतीय बाटो हुदै साउदीमा काम गर्न पुगेकी थिइन । ७ सय साउदी रियालमा काम गर्न पुगेपनि उनले ६ सय मात्रै पाउने गरेकी बताएकी थिइन् । प्लस टु गरेकी उनको १२ बषिर्य एउटा सन्तान भएको जनाएकी थिइन । ‘श्रीमानबाट बिच्छेद भएपछि प्राइभेट कोटामा खादै आएकी जागिर छाडेर साउदी आएँ’, उनले भनेकी थिइन,’यहाँ निकै यातना भोग्नुपर्‍यो ।’ 
Source: Ekantipur