बाँगेसाल (प्यूठान), श्रावण २१ – परम्परागत रूपमा गाई-बाख्रा पाल्दै आएका यहाँका किसानले बाँझो जमिनमा घाँसखेती गरेर आयआर्जन बढाएका छन्।
बाँगेसाल-७ ददेरीका महिलाको अगुवाइमा सामुदायिक वन तथा खेतबारी आसपासमा घाँसखेती थालिएको हो। घाँस अभाव हुन थालेपछि नयाँ उपाय अपनाइएको उनीहरूले बताए। विभिन्न जातका पोषिला घाँस लगाउन थालेपछि पशुपालन सहज भएको छ। मनकामना महिला बाख्रापालन स्रोत केन्द्र समितिका ५० महिला घाँस खेतीमा लागेका छन्। घाँस बीउ बिक्रीबाट समेत उनीहरूले आम्दानी गर्न थालेका छन्। २०६३ मा जिल्ला पशुसेवा कार्यालयले सामुदायिक पशु विकास कार्यक्रममार्फत बीउ उत्पादनका लागि घाँस विकास स्रोत केन्द्रका रूपमा सहयोग गरेको थियो। त्यसपछि स्थानीय बासिन्दामा त्यसतर्फ आकषिर्त भएका हुन्।
अहिले जिल्ला पशुसेवा, हेफर इन्टरनेसनल, गरिबी निवारण कोष कार्यक्रमले पनि पशुपालनमा प्राविधिक सहयोग दिएका छन्। उन्नत जातका बाख्रा, बोका, खसी र गाईपालनले बाँगेसालको पहिचान फेरिएको छ। ‘समुदायिक वनको तीन हेक्टर बाँझो जमिनमा घाँसको बीउ उत्पादन विकास स्रोत केन्द्र बनाएका छौं,’ समितिकी अध्यक्ष मायादेवी श्रेष्ठले भनिन्, ‘बीउ र बेर्ना बिक्रीबाट मात्र ३ लाख बचत भएको छ।’ जिल्लाका विभिन्न स्थानमा व्यावसायिक गाई, बाख्रा फाराम खुल्न थालेकाले बीउको माग बढेको उनले बताइन्। केन्द्रबाट उत्पादित बीउ र बेर्नाले जिल्लालाई नै हरियाली बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताइन्।
उक्त बीउलाई किसानले आफ्ना बारीका कान्लामा लगाएर हरियाली बनाएका छन्। ‘अहिले बस्तुभाउलाई घाँसको कुनै चिन्ता छैन,’ स्थानीय कल्पना जीसीले भनिन्। बिहानै उठेर डोको, नाम्लो बोकेर जंगल जानु पर्ने बाध्यता समेत हटेको उनले बताइन्। जीसीका अनुसार महिलाले १०/१५ वटा उन्नत बाख्रा र २/४ वटा उन्नत गाई पालेका छन्। सिडलेस किम्बो, मलाटो, स्टाइलो, बदामे, नेपियरलगायत पोषिला जातका घाँसले बांगेसाल जिल्लामै नमुना बनेको पशुसेवा प्रमुख खुसिलाल साहले बताए। EKANTIPUR