उमाकान्त पाण्डे /उज्यालो । यूएई, असोज ५ – मध्यपुर्वका खाडीमुलुकहरुमा खटिएका नेपाली नियोग प्रमुखहरुको ‘आपस्मिक बिशेष भेला’ शनिबार यूएईमा सकिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितीमा भएको राजदुतहरुको ‘आकस्मिक बिशेष भेला’मा वैदेशिक रोजगारका लागि गएका नेपालीले झेल्दै आएका समस्या र सरकारका तर्फबाट तत्काल सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा प्रधानमन्त्रीले समबन्धित देशमा कार्यरत राजदुत तथा नियोग प्रमुखहरु सँग जानकारी लिएको नेपाली दुतावास आबुधाबीका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन न्युयोर्क जानेक्रममा संयुक्त अरब इमिरेट्समा भेला भएका मध्यपूर्वी एसिया, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यबाहक राजदूत मार्फत ती मुलुकमा पुगेका नेपाली नागरिकले ब्यहोर्नु परेका झन्झट र सुल्झाउन सकिने उपायका बारेमा जानकारी लिनु भएको हो ।
भेलामा संयुक्त अरब इमिरेट्स यूएईका लागि नेपाली राजदूत धनञ्जय झा, साउदी अरेबियाका राजदूत उदयराज पाण्डे तथा कुवेतका लागि कार्यबाहक राजदूत विशाल भट्टराई, ओमनका लागि कार्यबाहक राजदूत झविन्द्र अर्याल, कतारका लागि कार्यबाहक राजदूत गणेश ढकाल र इजिप्टका लागि कार्यबाहक राजदूतले सम्बन्धित देशमा देखिएका श्रमसम्बन्धी समस्या, समाधानका लागि सरकारका तर्फबाट चालिनु पर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा प्रस्तुत गरेका थिए ।
भेलामा श्रमदाता मुलुकमा कामदार पठाउनुपूर्व त्यहाँ रहेको राजदूतावासको सिफारिसलाई अनिवार्य गरिनु पर्ने र त्यसो गरे वैदेशिक रोजगारीका क्षेत्रमा हाल:देखिएका आधा समस्या स्वतः घट्ने राजदूतहरुले सुझाउ दिएका थिए ।
बिदेशमा कार्यरत नेपाली कामदारले खासगरी राहदानी, सम्झौताअनुसारको परिश्रमिक र सम्बन्धित देशको कानुनुनी अज्ञानता कारण दु:ख पाउने गरेको समस्या बारे जानकारी गराएका थिए ।
पछिल्लो समय गैरकानुनीरुपमा दलालमार्फत वैदेशिक मुलुकमा गएर दुःख पाएका घटनासमेत बढिरहेको,दलालको फन्दामा पर्दा एउटा मुलुकका लागि भनी पैसा बुझाएर हिँडेको व्यक्ति अन्य तेस्रो मुलुक पुगेर अलपत्र पर्ने गरेको बारे समेत कुरा उठाइएको थियो । त्यस्तै भेलामा नेपालमा गरिने सम्झौताअनुसारको पारिश्रमिक बिदेश आएर नपाएका समस्याहरु लिएर दुतावास आउने नेपालीको सख्या धेरै रहेको भन्दै रोजगारीका क्रममा विभिन्न मुलुकमा सजाय भोगिरहेका नेपालीको तथ्याङ्क र उनीहरुलाई त्यहाँबाट निकाल्न सरकारी तवरमा भइरहेको प्रयासका बारे पनि छलफल गरिएको थियो । सम्बन्धित मुलुकमा कार्यरत नेपाली कामदारको हकहित र अधिकारका लागि कानुनमा ल्याउनुपर्ने सुधारका बारेमा केन्द्रित रहेर राजदुतहरुले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
रोजगारीका लागि खाडी मुलुकमा सबै भन्दा धेरै कार्यरत रहेको भन्दै पछिल्लो समय एमआरपी छपाइमा देखिएको त्रुटिले समेत वैदेशिक रोजगारीमा आएका नागरिकलाई थप समस्या थपिएकोले नियोगमा जनशक्तिको कमी भएको बारेमा पनि प्रधानमन्त्रीलाई राजदुतहरुले जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइरालाले यूएई रहदा दिनभर यहाँ भेला भएका नियोग प्रमुख सँग भेट्घाट तथा छलफल गर्नु भयो भने साझ आबुधाबीमा आयोजित रात्रीभोजमा यहाँ रहेका बिभिन्न नेपाली संघसस्थाका प्रतिनिधिहरु सँग समेत भेटघाट गर्नु भएको थियो । भेटघाटमा यहाँ रहेका नेपाली संघसस्थाले ज्ञापन पत्र बुझाएका थिए ।
राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका हिंड्नुभएका प्रधानमन्त्री आज अबेर न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय भएको नेपाली दुतावास आबुधाबीले जनाएको छ ।