जनगायक जीवन शर्माले तताए मस्कटका नेपालीलाई-राजदुत पनि नाचे शर्मा सगैं

सालिकराम आचार्य 
आ…….यसपालि त यस्तै भो आमा,
अर्को साल आउने दशैमा ।
हिउँदको घाम छाया बर्षातको पानी,
सुख दुःख यस्तै रहेछ हाम्रो जिन्दगानी !
आ…कालो कौवा करायो होला,
घरै मुनि सुकेको बाँसैमा !
यसपाली त……
चिसो हावा चल्दै होला मेरो प्यारो गाउँमा,
तातो हावा बहिरन्छन यो बिरानो ठाउँमा
आ….महिना बिते बर्ष दिन बिते,
दुःख झेल्दै अर्कैको देशैमा…..!
यसपाली त यस्तै भो आमा ,
अर्को साल आउने छू दशैमा….!
मन्चमा जब जीवन शर्माको यस गीत गुञ्जियो तब सगै रहेको प्रमुख अतिथि नेपाली राजदूतावासका का बा राजदूत पनि पन्चेबाजाको तालमा रहेको यस गीतको धुन र मार्मिक शब्दहरु संगसंगै छमछमी नाचे । जीवन शर्मा मन्चमा उक्लेर आफ्नो प्रस्तुति शुरू गर्ने बितिकै त्यहाँको माहोल नै अलग्गै महसूस भएको थियो । उनको गीतको भावनामा डुब्दै सबै दर्शकहरु आफ्नो सिट छोडेर नाचेका थिए । क्रमश: “मदेशी पहाडी हिमालका हिमाली सयौ जाति जनजाति हामी सबै नेपाली”, ” कोही साथी सागरपारी अरबको खाडिमा, कोही साथी सिट्ठी फुक्दै मलायाको झाडीमा, हत्केलामा ज्यान थापी समुन्द्रको पानीमा के सारो आपत यो जिन्दगानीमा”, “फोक्ल्यान्डको टापुबाट जंगलको बिचबाट लेखि रहेछु चिठ्ठी तिमिलाई लडाईको मैदानबाट…!”, “झरनाको चिसो पानी” लगाएतका मार्मिक गीतहरुले उपस्थित सबै दर्शकहरुलाई भाबुक बनाए भने २०३९ सालमा निर्मित सदाबहार चर्चित उमेरले असि नाघेपनि भारी खेप्दै जीवन गुजरा चलाउन बिवश भरियाको गीत “सिमली छाँयामा बसी भरिया लामो सास फेरेको….!” दुई चोटी नगाई धरै पाएन भने अन्तिम सम्म नै दर्शकहरुद्वारा गाउनको लागि निरन्तर आग्रह गरिरहे । गीत संगसंगै आफ्ना भनाई राख्दै जीवन शर्माले भन्नु भयो संसारको जुनसुकै भागमा रहेपनि हामी सर्वप्रथम नेपाली हो नेपाली भएर बाँच्नु पर्छ । समस्या सबैको साझा हो अनि पर्देशमा आफ्नो समस्या समाधानको लागि एक आपसमा फुटेर हैन सबै एकजुट भएर अघि बढ्नु पर्छ । यहाँ तपाईहरु जुनसुकै संघ संस्था, पार्टी, संगठन वा समुदायको भए पनि म सबैलाई उत्तिकई सम्मान र माया गर्छु ।
ओमान नेपाली एकता समाजद्वारा आयोजना गरिएको तिहार तथा छठ पर्वको शुभ-कामना आदानप्रदान सहितको सो कार्यक्रम समाजका अध्यक्ष शिबलाल गिरीको अध्यक्षतामा जी. बी. लामा तथा छबिलाल गिरीको संयुक्त सञ्चालनमा सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात कार्यक्रम तयारी समितिका संयोजक धनु क्षेत्रीले स्वागत मनतब्य राखेका थिए भने प्रमुख अथिति नेपाली राजदुतावासका का बा राजदूत श्री कृष्ण कुमार सुबेदीद्वारा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै भन्नु भयो जनगायक जीवन शर्माको गीतहरु देश जनताका लागि समर्पित रहेको र परिवर्तन, जनचेतना र जनजागृत गर्ने खालको रहेको भन्दै नेपालको गणतान्त्रिक आन्दोलनमा सांस्कृतिक कलाकारको तर्फबाट उहाँ सबैभन्दा सम्मानित ब्यक्तित्व हुन । आफ्नो ब्यक्तिगत स्वार्थलाई कहिले पनि हेरेनन उनले बरु आफ्नो संघर्षशील छबिलाई बचाएर सांस्कृतिक क्रान्तिको अभियानलाई निरन्तरता दिई रहनु भएको छ ।
उहाँको यस्तै ब्यक्तित्वको कारण आफुलाई सबै भन्दा बढी मन पर्ने कलाकार हुन भन्दै खुलेर प्रशंसा गर्दै अझ भन्नु भयो “ढुंगाको काप फोडेर उम्रेको पिपलु हो जीवन शर्मा, चौरमा फैलदै जाने दूबो हो जीवन शर्मा” आज ती दुवो फैलदै ओमान सम्म आइपुग्दा त्यसलाई हामीले नांगो पैतालाले टेकेका छौ तिनै जीवन शर्मा फैलदै फैलदै पिपलू को छहारी भएर यो मध्यान्न को गर्मीमा आइपुग्दा हामीले शितल छहारीको अनुभव गरेका छौ । ती छहारीमा बसेर हाम्रा आफ्ना दुःख बेदनालाई बिर्सेर आज जीवनमा अमूल्य प्राप्त गरेको छौ । मेरो ब्यक्तिगत तर्फबाट राजदूतावासको तर्फबाट र ओमान बासी सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक स्वागत र अभिनन्दन गर्दछु भन्नु भयो साथसाथै जीवन शर्मालाई मन्चमा बोलाई खादा र ढाका टोपी लगाई सम्मानित समेत गर्नु भयो । यसै क्रममा रोजीरोटीको समस्याले गर्दा आज युवाहरु आफ्नो घरबार नै बन्दकी राखी विदेशिने क्रम जारी नै रहेको र यसरी हजारौ युवाहरु विदेश पलायन भएको कारण स्वदेशमा देश परिवर्तन गर्ने युवा जनशक्तिको अभाव खडकिएको बताउनु भयो ।
त्यसै गरी मनतब्यकै क्रममा हालसालै मिडियामा सार्वजानिक भए पछि थाहा पाएको नुवाकोटकी रिमा तामाङ् ओमानमा यौनदासीको रूपमा समस्या भोगीरहेको कुरा जानकारीमा आउने बित्तिकै नुवाकोट जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी उनको परिवार मार्फत सम्पर्क नम्बर प्राप्त गरी यहाँ उनको अवस्था बुझेको र हाल एजेन्टसंग उनी सुरक्षित रहेको र चाडै नै दूतावासमा झिकाई उनको पूर्ण उद्दारको लागि आवश्यक कदम चालिएको जानकारी दिनु भयो ।
सो समारोहमा गैर आवासीय नेपाली संघ ओमानका अध्यक्ष डी.बी.क्षेत्री, नेपाली समाज ओमानका अध्यक्ष लीलानाथ कोईराला, जनप्रगतिशील मन्च ओमानका सरोज लामा, प्रवासी नेपाली मन्चका गगन कार्की, महिला समूह ओमानका पार्वती श्रेष्ठ, तामाङ् समाज ओमानका कुल बहादुर तामाङ् र अन्तराष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने लगायतका अतिथिहरुले शुभ-कामना मन्तब्य राखेका थिए ।
रक्तिम सांस्कृतिक ओमान र जनप्रगतिशिल मन्च ओमानद्वारा जोशीला तथा मार्मिक क्रान्तिकारी गीत तथा नृत्यहरु प्रस्तुत गरिएरको थियो भने मिर्मिरे सांस्कृतिक परिवार ओमानद्वारा देशभक्तिपूर्ण गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
यसै गरी प्रवासी नेपाली मन्चद्वारा जातीय छुवाछुत बिरुद्धको नाटक “अन्तरजातीय बिवाह” प्रस्तुत गरिएको थियो भने केहि स्रस्टाहरुद्वारा गजल तथा कविताहरु प्रश्तुत गरी कार्यक्रमको रोचकता थपि दिएको थियो । अन्तमा समारोहका अध्यक्ष शिबलाल गिरिले बिशिष्ट अतिथि कलाकार, प्रमुख अतिथि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, प्रायोजकहरु लगायत सबै उपस्थित जनसमुदायहरुलाई कार्यक्रम सफल पार्न सहयोग गरी दिएकोमा हार्दिक धन्यवाद दिदै समापन गरियो ।