भारतको नइनीतालमा अध्ययनरत एक नेपाली विद्यार्थीको स्कूलको लापरवाहीका कारण मृत्यु

भारतको नइनीताल स्थित शेरउड स्कूलमा अध्ययनरत एक नेपाली विद्यार्थीको स्कूलको लापरवाहीका कारण मृत्यु भएको छ। काठमाडौंका शान प्रजापति, १४ को नोइडा स्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनी कक्षा ९ मा अध्ययनरत थिए।
शुक्रबार विद्यालय कर्मचारीले उनलाई एपोलो भर्ना गरेका थिए। समयमै उपचार नपाउँदा शानको मृत्यु भएको भन्दै उनकी आमा नीना श्रेष्ठले स्कुलको लापरवाहीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।
अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय मिडियाहरुले रगतमा हुने प्रकोप स्पेटिसेमियाका कारण उनको मृत्यु भएको जनाएका छन्। ‘स्कूलको लापरवाहीविरुद्ध परेको उजुरी हामीले दर्ता गरेका छौं’, गौतमबुद्ध नगरका प्रहरी एसएसपी प्रीतिन्दर सिंहले भने, ‘मुद्दालाई हामी सम्बन्धित प्रहरी कार्यालय नइनीताल पठाउँदैछौं।’
स्कूलले १३ नोभेम्बरमै शानलाई अस्पताल पुर्यावएको दाबी गरे पनि आमा नीनाले त्यसलाई अस्वीकार गरिन्। ‘१३ नोभेम्बरमा छोराले बिरामी छु भनेपछि मैले प्रधानाध्यापकलाई फोन गरेँ तर कुनै रेस्पोन्स आएन। त्यसपछि मैले इमेल गरेँ ३ बजेतिर। त्यसपछि मलाई हाउस मास्टर रविकुमारले फोन गरे’, आमाले भनिन्- ‘उनले शानलाई बम्बेको हल्दावनी अस्पताल पुर्यारइएको जानकारी दिए। तर एपोलो अस्पतालमा उसलाई पहिलो पटक देख्दा उ स्कूलकै युनिफर्ममा थियो।’
‘अस्पतालको इमर्जेन्सीमा राखिएको मान्छे स्कूल युनिफर्ममा कसरी हुन्छ ?’, उनले प्रश्न गरिन्, ‘यसमा विद्यालयको चरम लापरवाही भएको छ।’
Nagariknews