राजधानी काठमाडौंको बबरहमलामा भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ। साँझ करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा परी स्कुटर चालक २१ वर्षीया शान्ता हमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुरानो बसपार्कबाट घुलिखेलतर्फ जाँदै गरेको बा २ ख ३७ नम्बरको मिनिबसले सोही दिसातर्फबाट गइरहेको बा ६३ प ४३२४ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो। बसले स्कुटरलाई सोहोरेर करिब १० मिटर पर पुर्याएको थियो।
दुर्घटनाग्रस्त स्कुटर। तस्विरः दुर्घटनाग्रस्त स्कुटर। तस्विरः सेतोपाटी
ठक्करबाट गम्भीर घाइते भएकी हमाललाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
म्याग्दी घर भएकी हमाल राजधानीको न्युरोडस्थित एक बचत तथा ऋण सहकारी संस्थामा काम गर्दै आइरहेकी थिइन्।
घटनापछि फरार रहेका बसका चालक रवीनकुमार कोजु श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बबरमहलमा यसअघि असोज २७ मा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो। सोही ठाउँमा आज दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त स्कुटर।
तस्विरः सेतोपाटी