समस्यामा परेपछी यूएई दुतावसको शरणमा १० महिला

उमाकान्त पाण्डे , यूएई(आबुधावी) माघ १४ – बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएई आएका १० नेपाली महिला दुतावासको शरणमा पुगेका छन ।घरेलु महिला तथा ब्युटी पार्लर तथा अन्य कामका लागि भनेर युएई आइपुगेका नेपाली महिलाहरु समस्यामा परेपछि दुतावास पुगेका हुन ।
यसरी दुतावास पुग्ने महिलाहरु झापा, मोरङ, दाङ, चितवन, मकवानपुर, ताप्लेजुङ् र सिन्धुपाल्चोक (उनीहरुकै आग्रहमा नाम सार्वजनिक नगरिएको)का छन । यसरी दुतावास पुग्ने महिलामध्ये कोही बर्षौ युएई बसेका र कतिपय केही महिनाअघि मात्र युएई आएकाहरु पनि छन । अप्ठ्यारोमा परेका १० नेपाली महिलाहरु मध्ये प्राय नेपालकै बाटो हुँदै र केही भारतको बाटो हुँदै आएका छन । 
माघको पहिलो हप्ता दुतावासको  सेल्टर हाउसमा ६ जना मात्र महिला थिए । उनीहरुको उद्धार नहुँदै समस्यामा पर्ने महिलाको सख्या बढेर १०  पुगेको छ ।दुतावासको शरणमा आइ पुग्ने महिलाहरुको समस्या प्राय:एउटै हुने गरेको छ । आफू काम गर्न आएको घर मालिकहरुद्वारा काम गरे बापत पैसा नदिएको, बिरामी हुँदा उपचार नगरेको, र धेरै समय कामगर्न लगाएको , नाजायज सम्बन्धका लागि जबर्जस्ती गर्न खोज्ने जस्ता अमानवीय व्यवहारका कारण आफू आएको भिसावाला कम्पनी वा घर छोडेर दुतावास आइपुगेको महिलाहरुले बताउने गर्छन् । 
 
काम गर्दै जाँदा साहु साहुनीले दिने शारीरिक तथा मानसिक पीडा खेप्न नसकेर दुतावासमा आउने धेरै हुन्छन । कतिपय महिलाहरु आफू आएको भिसावाला कम्पनी वा घर छोडेर गैरकानुनी रुपमा केही समय बहिर काम गरेपछी  नेपाल फर्कन दुतावासबाट सहयोग पाउने आशामा दुतावासको ढोका ढकढकाउन आउने गरेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले बताउनुभयो । कानुनी प्रकृया पुरा गरेर समस्यामा परेका महिलालाई स्वदेश फिर्ता गराउन दुतावासले सकृय रुपमा दैनिक काम गरिरहेको उहाको भनाइ छ । 
दुतावासको माथिल्लो तल्लामा रहेको एउटा कोठालाई समस्यामा परेर आउने महिलाहरुको बासको लागि दुतावासले सेल्टर हाउसको रुपमा सञ्चालन गरिरहेको युएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनु भयो । ‘युएईको आबुधाबीमा रहेको नेपाली दुतावासको शरणमा पुग्ने महिलाको सख्या केही बर्षको अनुपातमा घटे पनि दुतावासको सेल्टर हाउसमा कोही न कोही नभएको कुनै दिन छैन’, उहाँले भन्नुभयो ‘दुतावासको शरणमा आएपछि समस्यामा परेका नेपालीलाई दुतावासले प्रकृया पुराएर नेपाल पठाउँछ।’ 
युएई बैदेशिक रोजगारीका लागि सुरक्षित गन्तब्य मुलुकको रुपमा मानिए पनि समस्यामा परेका महिलाहरु दुतावासको ‘सेल्टर हाउसमा’ आउने क्रम रोकिएको छैन । आफू कार्यरत मालिकले नराम्रो व्यवहारगर्न थालेपछि वा समस्यामा परेपछि महिलाहरु यहाँ रहेका नेपाली संघसस्था , ट्याक्सी चालक, नेपाली तथा अन्य देशका नागरिकको सहयोगमा दुतावाससम्म पुग्ने गर्छन् । समस्यामा परेका महिलाहरुलाई यहाँ रहेका संघसस्थाले ‘भौतिक सहयोग’ मात्र गर्न सक्ने एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । ‘कानुनी सहयोग दुतावासले गर्ने हो,दुतावासले कानुनी प्रकृया पुरा गरेर हवाइ टिकट तथा अन्य आर्थिक सहयोग मागेमा यहाँ रहेका संघसस्था सहयोग गर्न तयार छन, गरिरहेका पनि छन’ भुसालले भन्नुभयो । 
घर छोडेर भागेपछि घर मालिकले कानुन विपरित काम गरी भागेको आरोप लगाएर प्रहरीमा उजुरी गर्ने भएकोले यदी त्यसो भएमा महिलाको समस्या समाधान गर्न थप जटिल हुने गरेको दुतावासको भनाइ छ । नेपाल सरकारले गएको असोज १ देखि लागु गर्ने गरी घरेलु कामदारका लागि युएईसहित खाडीका अन्य सात मुलुकमा काममा जान महिलालाई प्रतिवन्ध लगाएको भन्दै ती देशमा रहेका नेपाली दुतावासलाई परिपत्र समेत गरिसकेको छ । यधपी घरेलुकामदारको रुपमा नेपाली महिला आउने क्रम रोकिएको छैन । नेपालकै एयरपोर्टमा बिभिन्न सेटिङ गराएर घरेलु भिशालाई सगठित कम्पनीको काममा जाने भन्दै नक्कली कागज पत्र बनाएर खाडी भित्रिने महिलाको सख्या ठुलो छ ।