काठमाडौंमा एसिड प्रहारबाट घाइते भएकी सीमा र संगीताले अस्पतालको बेडबाटै एसलसी परीक्षा दिए
चैत्र ५ गते, २०७१ मा प्रकाशित
काठमाडौं । विद्यालय शिक्षाको फलामे ढोका मानिँदै आएको एसलसी परीक्षाको पहिलो दिन विहीबार ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
विहीबारको परीक्षामा काठमाडौंमा अज्ञात समूहको एसिड प्रहारबाट घाइते भएकी सीमा बस्नेतले वीर अस्पताल र संगीता पुलामी मगरले काठमाडौं मेडिकल कलेजबाटै परीक्षा दिएका छन् । मगरले भने उनका सहयोगीको सहयोगमा परीक्षा दिएकी हुन् ।
उनीहरुलाई उपचाररत अस्पतालमै परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री सुशील कोइरालाले यसअघि नै निर्देशन दिएका थिए ।
यो वर्ष एसएलसी परीक्षमा नियमिततर्फ २ लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० जना छात्रा गरी ४ लाख २६ हजार २ सय १४ जना सहभागी भएका छन् ।
एक्जाम्टेडतर्फ भने ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी १ लाख ४५ हजार १ सय ८३ जना सहभागी भएका छन् । प्राविधिकतर्फ २ हजार ३७ जना छात्र र १ हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी छन् ।
सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् । यो वर्ष परीक्षाका लागि देशभरमा गरी १ हजार ८ सय ६२ परीक्षा केन्द्र कायम गरिएको छ ।
जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ ओटा कायम गरिएको छ ।
चिट चोराउने र चोर्नेलाई कडा कारबाही हुने भन्दै परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले परीक्षा ब्यवस्थित र शान्तिपूर्ण ढंगले सन्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार पारेर देशभर पठाइएकाले यस विपरित गर्ने जो कोहीलाई कडा कारबाही हुने जानकारी दिए । – इमेजखबरमा समाचार छ ।