विगत केही समयदेखि यमनमा भड्किएको गृहयुद्धका कारण त्यहाँको जनजीवन असुरक्षित भएकाले राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी नेपाली कामदारको उद्धारका लागि पहल गरेको छ।
राजधानी सानामा नाम नखुलेका १४ जना र अर्को प्रमुख सहर एडेनमा नाम पहिचान भएका ११ जना रहेको स्याङ्जा निवासी मनोज भटृराईले टेलिफोनमार्फत आयोगलाई जानकारी गराउनुभएको आयोग सदस्य सुदीप पाठकले बताए।
यस विषयमा आयोगले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउँदै उद्धारका लागि तत्काल कदम चाल्न आग्रह गरेको पनि उनले जानकारी दिए।
भारत सरकारले आफ्नो मुलुकका आप्रवासी कामदारको उद्धारका लागि एक टोली पठाइसकेको खबर प्राप्त भएकाले भारतीय कामदारसँगै नेपाली कामदारलाई उद्धार गरी ल्याउन पहल भइरहेको साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोन सम्पर्कमा जानकारी गराउनुभएको पनि सदस्य पाठकले उल्लेख गरे।
उनका अनुसार एडेनमा स्याङ्जाका मनोज भट्टराई, अनिल विश्वकर्मा, सन्तोष जिसी र प्रकाश डोटेल, नवलपरासीका सन्तोष पाण्डे, पाल्पाका खिमानन्द पौडेल र लेखनाथ खनाल, रामेछापका विनुदास श्रेष्ठ र भक्तबहादुर श्रेष्ठ तथा काठमाडौँका प्रचण्डमान श्रेष्ठ र राधिका श्रेष्ठ हुन्। रासस