काठमाडौ – सेन्ट लुसियाबाट गत हप्तादेखि हराइरहेका गैरकानुनी सात नेपाली विद्यार्थीलाई ग्रेनाडा प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीहरु सेन्ट लुसियाबाट डुंगा चढेर मंगलबार ग्रेनाडा आइपुगेको प्रहरीले जनाएको छ । उनीहरु अहिले हिरासतमा छन् ।
पक्राउ परेका विद्यार्थीहरुमा दीपक सापकोटा (२२), चन्द्रबहादुर थापा (२२), अंकित ढकाल (१८), प्रदीप अधिकारी (२३), दीपक भुजेल (२०), अर्जुन शर्मा काफ्ले (३२) र नुमकला तिवारी (२०) छन् ।
पक्राउ परेका मध्ये ६ पुरुष र १ महिला छन् । ‘ति विद्यार्थीहरु मानव तस्करबाट पीडित भएको आशंका गरेका छौं’, प्रहरीलाई उदृत गर्दै जमैका अब्जर्भरले लेखेको छ ।
पक्राउ परेका विद्यार्थीहरुले आफूलाई ल्याम्बडर्स एकेडेमीमा कामसहितको शिक्षा अवसर दिने भन्दै सेन्ट लुसिया पुर्याइएको बयान दिएका छन् । उनीहरुले पढाईको लागि ९ हजार डलर र सेन्ट लुसिया गएबापत छुट्टै १३ लाख डलर तिरेका उनीहरुलाई त्यहाँ पुगेपछि सरकारी अधिकारीहरुले गैरकानुनी भएको जानकारी गराएका थिए । ईकन्तिपुरमा समाचार छ ।