भूकम्पपछि पशुपक्षीको मृत्युका कारण करिब नौ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति

गत शनिबार गएको विनासकारी भूकम्पका कारण देशका विभिन्न भागमा मृत्यु भएका पशुपक्षीको मृत्युका कारण करिब नौ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। 
भूकम्पका कारण विभिन्न ११ जिल्लामा तीन हजार ३०९ ठूला,एक हजार ०१९ साना पशुहरु र दुई हजार १२२ सङ्ख्याका पक्षीको मृत्युभएको कृषि विकास मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका उपसचिव श्रीराम घिमिरेका अनुसार भूकम्पबाट विशेष गरी काभ्रे र रसुवामा धेरै संख्यामा पशुपंक्षी हताहत भएका छन्। 
यसबीचमा विभिन्न किसिमका ५,००० पशुपंक्षीको उपचार तथा ७५ मृत पशुपंक्षीको व्यवस्थापन गरिएको छ। 
मन्त्रालयले खाद्य वस्तुको सहज आपूर्तिका लागि मन्त्रालयका सचिव डा दिनेशप्रसाद पराजुलीको संयोजकत्वमा सरोकारवाला सहभागी १७ सदस्यीय समिति गठन गरी सहजीकरण गरिरहेको जनाएको छ। 
मन्त्रालयले दूध, तरकारी, फलफूल र अन्डाको आपूर्तिलाई व्यवस्थित गर्न लागेको घिमिरेले जानकारी गराए। रासस