भक्तपुर – अहिलेको समयमा हरेक वर्ष पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले सुनसान छ ।
सधैँ पर्यटकको चहलपहल रहने नगरकोटमा विनाशकारी भूकम्पले अधिकांश होटल भत्किएपछि नगरकोट सुनसान भएको हो । भूकम्पले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा पर्ने पर्यटकीय स्थल नगरकोटमा सञ्चालनमा रहेका दर्जनौँ होटल तथा रिसोर्ट भग्नावशेषमा परिणत भएपछि पर्यटकको आगमन सुन्य भएको छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अनुसार नगरकोटका १२ ठूला होटल पूर्ण रुपमा भत्किएर बस्न नमिल्ने भएका छन् । अन्य सातवटा होटलमा पनि क्षति पुगेको समितिका अध्यक्ष दीपक लामिछानेले बताए । यहाँको होटेल स्नोम्यान, स्पेस माउन्टेन, नाल्दुम भिलेज रिसोर्ट, भ्यू प्वाइन्ट, ग्रिन भ्याली, पानोरमा भ्यू र द फोर्ट रिसोर्ट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
उन्काई रिसोर्ट, द निभा प्रालि, चौतारी, क्लब हिमालयलगायतका होटलमा समेत भूकम्पले केही क्षति पुर्याएको छ । होटल व्यवसायीले क्षति पुगेका यी होटल पुनः सञ्चालनमा ल्याउन नसकिने भएको बताएका छन् । होटेल व्यवसायी श्याम कायस्थले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको नगरकोटमा भूकम्पले क्षति पुर्याएपछि होटल सञ्चालनमा समस्या आएको बताए ।
अधिकांश स्थानीयवासीको रोजगारीको गन्तव्यसमेत रहेको नगरकोटका होटेलमा कार्यरत मजदुरको रोजीरोटीसमेत भूकम्पले खोसेको छ । यहाँका होटेल बन्द भएपछि घर फर्किएका मजदुरको घरसमेत भत्किएर ध्वस्त भएपछि अहिले उनीहरु यता न उताको भएको स्थानीयवासी धनबहादुर लामाले बताए ।
‘भूकम्पबाट यहाँका होटल व्यवसायीलाई करोडौँको नोक्सानी भएको छ,’ उनले भने । रासस