लिलु डुम्रे
दक्षिण कोरिया । साना तथा मझौला कम्पनीमा कार्यरत भूकम्पपीडित नेपाली कामदारलाई बिदा दिने व्यवस्था गर्न कोरियाको श्रम विभागले कम्पनीहरूलाई पत्राचार गरेको छ।
कोरियास्थित नेपाली दूतावासको आग्रहपछि विदेश मन्त्रालयले उद्योग मन्त्रालयलाई परिपत्र गरेको थियो। श्रम विभागले मंगलबारदेखि कम्पनीहरूलाई पत्र पठाउन थालेको हो।
श्रम विभागद्वारा प्रेषित पत्रमा नेपालमा ठूलो भूकम्प गएकाले परिवारमा मृतक भए अन्त्येष्टि, घाइते भए उपचार र हराएको भए खोजबिनका लागि बिदा मिलाइदिन उल्लेख गरिएको छ।
कम्पनीहरूलाई प्राप्त पत्रमा नेपालमा गएको विनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको छ। २८ हजारको संख्यामा रहेका नेपाली कामदारमा भूकम्पबाट बढी प्रभावित जिल्लाका उल्लेख्य छन्।
कामका लागि कोरियामा रहेका गोरखा घ्याल्चोकका प्रज्ञान कार्कीले नेपालीको पीडामा यहाँको सरकारको सहानुभूतिले ठूलो सहयोग भएको बताए। कम्पनी मालिकले बिदा दिएको तर आफ्नो व्यक्तिगत कारणले नेपाल फर्कन नसकेको उनले बताए।