वीरगन्ज- पर्साको सुर्वणपुरमा एक १२ वर्षे बालिकाको शव अभिभावकले जलाउन लागेेको बेला चिताबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ। सेढवा-६ घर भई सुर्वणपुर-७ बाघमोर्चा बस्ने शुरेश महतो कम्करकी १२ वर्षीया छोरी शोभावती कुमारीको शव शंकास्पद अवस्थामा जलाउन लागिएको बेला नियन्त्रणमा लिइएकाे प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले बताए।
भारतीय सिमाना छुट्याउने दशगजा नजिकै बाघमोर्चा खोला किनारमा शव चितामा राखेर जलाउनै लागेको बेला गाउलेले प्रहरीलाई खबर गरेका थिए। सुवर्णपुर प्रहरी चौकीको प्रहरी टोली पुग्दा त्यहाँ रहेका मलामी गएका सबै जना शव छोडेर भागेको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई नियन्त्रणमा लिदैं बालिकाका बाबु शुरेशलाई पक्राउ गरेको छ। शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
बालिकाका बाबु सुरेशले छोरीले पाँसो लगाएर आत्महत्या गरेपछि आफूहरुले अन्तिम संस्कार गर्न लागेको बयान दिएका छन्। आत्महत्या नै भए पनि प्रहरीलाई जानकारी नदिइकन गोप्य रुपमा दाहसंस्कार गर्न लागेकोले शंकाको ठाउँ भएको ओलीले बताए। ‘यस्तो घटनाको जानकारी आएपछि प्रहरीले अनुसन्धान गर्नै पर्ने हुन्छ ,’ उनले भने, ‘हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौं।’ नागरिकन्युजमा समाचार छ ।