भूकम्प प्रभावित क्षेत्रका प्रभावित युवालाई वैदेशिक रोजगार व्यवसायीले निशुल्करुपमा वैदेशिक रोजगारीका लागि विदेश पठाउने

 काठमाडौं- वैदेशिक रोजगार व्यवसायीले भूकम्प प्रभावित क्षेत्रका प्रभावित युवालाई निशुल्करुपमा वैदेशिक रोजगारीका लागि विदेश पठाउने भएका छन्। वैदेशिक रोजगार व्यवसायी संघले प्रभावित क्षेत्रका युवाहरु जो भूकम्पका कारण घर भत्केको, आफन्त गुमेको या अन्य कुनैरुपमा प्रभावित भएका छन् भने ती कामदारलाई निशुल्करुपमा वैदेशिक रोजगारीमा पठाउँदा रकम नलिने निर्णय गरेको हो। मलेसिया र खाडी मुलुक पठाउँदा कुनै पनि रकम नलिनेगरी प्रक्रिया सुरु गरेको संघले जनाएको छ।
संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेले भूकम्पले घरवारविहीन भएका, आयस्रोत कम भएको र आफन्त गुमेका युवाहरु वैदेशिक रोजगारीमा विदेश जान खोजे ती युवाबाट रकम नलिने निर्णय भएको  बताए। भूकम्प प्रभावित क्षेत्रका युवाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गाविसबाट प्रभावित भएको सिफारिस ल्याएमा मलेसिया र खाडी मुलुकमा निशुल्क कामदार पठाउने निर्णय भएको छ, उनले भने।
भूकम्प प्रभावित क्षेत्रका युवालाई निशुल्करुपमा विदेश पठाउन संघका सबै सदस्य र म्यानपावर कम्पनीलाई खबर भैसकेकाले असारको पहिलो सातादेखि निर्णय कार्यान्वयनमा आउने गैरेले बताए।
वैशाख १२ गते भूकम्प जाँदा १४ वटा जिल्ला अति प्रभावित भएको सरकारले जनाएको छ। १४ जिल्ला अति प्रभावित भए पनि देशका अन्य भागमा पनि भूकम्पले क्षति पुर्यातएको तथ्यांक गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
व्यवसायीले जुनसुकै ठाउँमा भूकम्पले प्रभावित भएका युवालाई विदेश जाँदा सेवा शुल्कदेखि अन्य कुनै शुल्क नलिने निर्णय गरेका हुन्।
सरकारले मलेसियाका लागि ८० हजार, बहराइनको ७० हजार, कुवेत ७० हजार, लेबनान ७० हजार, ओमान ७० हजार, साउदी अरब ७० हजार, यूएई ७० हजार र कतार २० हजार लागत तोकेको छ। व्यवसायीले भूकम्प प्रभावित युवाले तिर्ने लागत निशुल्क गर्ने निर्णय गरेका छन्। नागरिकन्युजमा समाचार छ ।  
मलेसियाका लागि एकैदिन ५ हजार पासपोर्ट संकलन
मलेसिया दूतावासले एक महिनापछि सोमबार मलेसिया जाने नेपाली कामदारको पासपोर्ट संकलन सुरु गरेको छ।
गत वैशाख १२ गते भूकम्प गएपछि कार्यालय बन्द गरेर मलेसिया फर्केको दूतावासले १० दिनअघि सानेपामा नयाँ भवन खोजी कार्यालय सुरु गरेको थियो। एक साताअघिबाट पर्यटकलगायत सोसल भिसा दिएको दूतावासले सोमबारदेखि कामदारको पासपोर्ट संकलन गरेको हो। सोमबार एकैदिन ५ हजार कामदारको पासपोर्ट संकलन भएको दूतावासले जनाएको छ। संकलन भएको पासपोर्टमा भिसा लाग्न १३ दिनसम्म लाग्ने दूतावासका एक अधिकृतले नागरिकन्युजलाई बताए।
दूतावासले भिसा स्ट्याम्पिङको काम नगर्दा एकमहिनादेखि नयाँ कामदार मलेसिया जान सकिरहेका थिएनन्।
प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चका उपाध्यक्ष रोहन गुरुङले एक महिनापछि दुतावासले कामदारको पासपोर्ट संकलन गरेको बताए। सोमबार ५ हजार कामदारको पासपोर्ट संकलन भएको दुतावासले जानकारी दिएको उनले बताए। यो हप्ता अझै २५ हजार पासपोर्ट संकलन हुने अवस्था छ, उनले भने।
बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले एक महिना दुतावासले स्ट्याम्पिङ नगर्दा ३० हजार कामदार प्रभावित भएको बताए। मलेसियाका लागि हरेक दिन १ हजार पासपोर्टमा स्ट्याम्पिङ हुने गर्छ, भुकम्पले दुतवास नखुल्दा र खुलेपछि पनि स्ट्याम्पिङ नगर्दा नयाँ कामदार मलेसियाबाट जानबाट बञ्चित भएका थिए, उनले भने। नागरिकन्युजमा समाचार छ ।