अर्जुन खनाल
भोटेचौर, सिन्धुपाल्चोक – गत बैशाख १२ गतेको विनाशकारी भुकम्प र त्यसपछि आईरहेका पराकम्पनले सर्वाधिक क्षति बेहोरको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नं ८ रहेको श्री जाल्पा देवी उच्च माविमा निशुल्क स्वास्थ्य शिविर एवम मनोरञ्जनात्मक कार्यक्रम आयोजना भएको थियो ।
आफनो व्यक्तिगत प्रयास र बन्दोवस्तिमा भुकम्प प्रभावित विभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गरी औषधी समेत वितरण गर्दै आउनुभएका डा. रविन्द्र पाण्डे (रविन्द्र समिर) ले उक्त गाविस र अन्य क्षेत्रका गरी करिब ४ सय ५० जनाको स्वास्थ्य परिक्षण गरी औषधी समेत प्रदान गर्नुभयो । डा. समिरको ५० औं उक्त स्वास्थ्य शिविरमा सेवा लिन धेरै टाढादेखि पिडितहरु आएका थिए । सम्पूर्ण पिडितहरुलाई रोग अनुसारका फुल कोर्स, गर्भवती, बालबालिका तथा जेष्ठ
नागरिकलाई अतिरिक्त सेवाको रुपमा भिटामिन, क्याल्सियम, प्रोटिन लगायतका सप्लिमेन्ट पनि डा. समीरले वितरण गर्नुभएको थियो ।
सोहि शिविरको उत्तरार्धमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले हास्यव्यंग्यात्मक प्रस्तुती र गितमार्फत भुकम्पिय सुरक्षा र सामाजिक सम्बन्धका बारेमा विभिन्न उदाहरणहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । पिडितहरुसंग विपदको यो घडिमा साक्षात्कार गरी शारिरिक र मानसिक समस्याहरुको निदानका लागि आयोजित स्वास्थ्य शिविरमार्फत आत्मस्पर्श गर्न पाउँदा आफुलाई सन्तुष्टि प्राप्त भएको डा. समिरले बताउनुभयो ।
मनोरञ्जनात्मक र मनोसामाजिक शैलीको गजुरेलको प्रस्तुती मार्फत विधार्थी एवम अभिभावकहरुले भरपुर मनोरञ्जन लिएका थिए । सोही प्रस्तुती श्री सरस्वती उच्च् मावि भोटेचौरमा पनि भएको थियो ।