काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यबाहक अध्यक्ष पशुपति मुरारका, कार्यकारिणी सदस्य भवानी राणा र पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले शनिबार मनोनयन दर्ता गराएका हुन् ।
अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचारसम्बन्धी पुरानो मुद्दामा अदालतको फैसलापछि जेल गएका कारण महासंघको अध्यक्ष पद खाली छ । उक्त पदका लागि आगामी १८ गते हुने विशेष साधारणसभामा निर्वाचन हुन लागेको हो ।
अध्यक्ष पदका बलियो दाबेदार मुरारकाले कार्यबाहक अध्यक्ष चलाइसकेको हुँदा स्वतः अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले महासंघलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि आफूले उम्मेदवारी दिएको बताए ।
यस्तै, भवानी राणाले महासंघलाई महिलाले नेतृत्व दिन सक्छ भनेर उम्मेदवारी दिएको बताइन् ।
कार्यवहाक अध्यक्ष मुरारका यसअघि भवानी राणालाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए भने राजकर्णिकार प्रदीपजंग पाण्डेसँग अध्यक्षमा पराजित भएका थिए ।
मुरारका र राणाले अझै पनि सहमतिको लागि पहल भइरहेको बताएका छन् । इमेजखबरमा समाचार छ ।