अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य घट्ने संकेत

अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मूल्य घट्ने संकेत देखिएको छ । ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा भएसँगै ईन्धनको मूल्यमा कमी आउन थालेको हो । यो क्रम आगामी ६ महिनामा अझै बढ्ने विज्ञहरु बताउँछन् ।
केहीदिन अघिमात्र भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ (भारु) घटेको थियो । यसै महिना भारतमा ईन्धनको मूल्य घटेको यो दोस्रो पटक हो । भारतमा हाल पेट्रोलको मूल्य प्रतिलिटर ७०।८१ भारु कायम छ भने डिजेल भारु ५२।९४ प्रतिलिटरमा उपलब्ध छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले भने सो अनुरुप मूल्य समायोजन गर्न बाँकी नै छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट ईन्धन खरिद गर्दै आएको छ । त्यसैले भारतमा ईन्धनको मूल्य घट्दा नेपाल आयल निगमले ल्याउने ईन्धनको मूल्य पनि स्वाभाविक रुपमा घट्छ ।
ईरान र भारतबीच राम्रो सम्बन्ध छ । परमाणु हतियार उत्पादनको मुद्दामा विगत १० वर्षदेखि ईरानमाथि अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएका थिए । तर, हालै संयुक्त राष्ट्र संघको परमाणु निगरानी संस्थासमक्ष ईरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाइसकेको छ । यस बापत राष्ट्रसंघ र पश्चिमी राष्ट्रले ईरानमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध हटाउने छन् । आर्थिक प्रतिबन्ध हटेसँगै ईरानले विभिन्न मुलुकमा तेल निर्यात गर्न सक्नेछ ।
बजारमा कुनै पनि बस्तुको उपलब्धता बढ्नासाथ त्यसको मूल्यमा कमी आउनु स्वाभाविक प्रक्रिया हो । ईरानमाथिको प्रतिबन्ध हट्नासाथ अन्तर्राष्ट्रिय बजारमा ईन्धनको उपलब्धता बढ्ने निश्चित छ । यस्तो परिस्थितीमा स्वतः ईन्धनको मूल्यमा कमी आउने जानकारहरु बताउँछन् ।
गत वर्ष एक सय ४० डलर प्रतिब्यारेल रहेको कच्चा तेलको मूल्य हाल ५६ डलर प्रतिब्यारेलमा झरेको छ । आगामी ६ महिनामा यो दर अझ घट्ने विज्ञहरुको भनाई छ । इमेजखबरमा समाचार छ ।