भुकम्प पीडितलाई नेपाल एसबिआई बैंकद्धारा रु. ७ करोड रुपैयाँ बराबरको सहयोग

काठमाडौं । महाबिनासकारी भुकम्पबाट पीडितहरुको राहत एवं पुनस्र्थापनका लागि नेपाल एसबिआई बैंक लिमिटेडले नगद रु. ७,०९,११,९११.८१ योगदान गरेको छ । 

 



 

उक्त योगदान रकम बैंकका प्रबन्ध संचालक आलोक कुमार शर्मा तथा डेपुटी सिईओ बिजय कुमार त्यागीले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा खिचिएको बैंकर्स चेक मार्फत प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो ।



प्रधानमन्त्रीले बैंकको चेक ग्रहण गर्दै भुकम्प पीडितहरुको राहत एवं पुनस्र्थापनका लागि बैंकले उल्लेख्य रकम योगदान गर्न बैंक सफल भएकोमा बैंक व्यवस्थापनको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले बैंकको योगदानको उच्चतम सदुपयोग हुने कुरामा आस्वस्त हुन समेत आग्रह गर्नुभयो । बैंकले गत बैंशाख महिनामा देशले सामना गरेको भुकम्पबाट पीडितहरुको राहत तथा पुनस्र्थापनका लागि स्वस्फुर्त रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट रकम संकलनको अभियान चलाई उक्त रकम योगदान गरेको हो ।

 



 

कार्यक्रममा प्रवन्ध संचालक  शर्माले बैंकको संस्थागत चिनारीबारे समेत प्रधानमन्त्रीलाई संक्षेपमा अवगत गराउनु भयो । बैंकका ३ क्षेत्रीय कार्यालयका अतिरिक्त ६२ व्यवशायिक ईकाई र ७८ एटिएम छन् । बैंकको निष्क्रिय कर्जा बैंकिङ्ग उद्योग मै सबैभन्दा न्यून मध्येमा छ । नेपाल एसबिआई बैंक भारतीय स्टेट बैंक (एस.बि.आई.) को सहायक कम्पनी हो, जुन विश्वका फच्र्युन ५०० कम्पनी मध्येको एक र सार्वजनिक क्षेत्रका बैंकहरु मध्ये भारतमा सबैभन्दा ठुलो र विश्वमा दोस्रो ठुलो बैंक हो । 



कार्यक्रममा बैंकका प्रमुख जोखिम अधिकृत  छपि राज पन्त, मुख्य प्रबन्धक  विष्णुदेव यादव, कम्पनी सचिव  रमेश घिमिरे  लगायतको उपस्थिति थियो ।