इजरायल जान मापदण्ड तय, २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हिब्रु भाषा जान्न नपर्ने

सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । मापदण्ड अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष,हाइट १ दशमलव ५ मिटर भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने उल्लेख रहेको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए । 
साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।
 
मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।
 
इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन । पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी रहेको मन्त्री गुरुङले जानकारी दिए । सेतोपाटीमा समाचार छ ।