शेयर बजारमा उल्लेख्य सुधार, लगानीकर्ता उत्साहित

काठमाडौं  । साताको सुरुको दिन आइतबार शेयर बजारका लगानीकर्ता उत्साहित देखिए ।
बजारमा उल्लेख्य सुधार आयो । नेप्से ११ सय नाघ्यो । १ अर्ब बराबरको कारोबार भयो । कारोबार सुरु भएदेखि बुलिस ट्रेन्डमा रहेको बजार परिसूचक नेप्से २३ अंकले धनात्मक रहेर ११ सय १२ मा पुगेर थामियो ।
कारोबार भएका मध्ये बढिजसो समूह हरियो रहे । अन्य, वाणिज्य बैंक, जलविद्युत् र होटल समूहमा उल्लेख्य सुधार आएसँगै नेप्सेमा पनि उच्च बृद्धि भएको हो ।
अन्य समूहमा सबैभन्दा उच्च ३८ अंकको बृद्धि भयो । वाणिज्य बैंक समूह पनि ३२ अंकले उकालो लाग्यो । जलविद्युत् समूहमा पनि २५ अंकको सुधार आयो । होटल समूहमा पनि दोहोरो अंकको बृद्धि भयो । विकास बैंक, बीमा र वित्त समूह भने रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको १६ लाख १५ हजार कित्ता शेयर ९८ करोड ८७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।