लोक सेवाको नागरिक सचेतना सम्पन्न

बनेपा । अचेल सरकारी जागिरप्रति सर्वसाधारणको आकर्षण निकै छ । लोक सेवा आयोगको पद्दतिमा कर्मचारी छनौट हुने हुँदा विभिन्न सरकारी निकायहरुमा विज्ञापन हुँदा हजारौंले फाराम भर्दछन् । लोक सेवा आयोगको कार्यसंचालनमा हुने निष्पक्षताले सर्वसाधारणको लोक सेवा आयोग प्रति निकै आकर्षण बढेको छ । 
लोक सेवा आयोगको बार्षिक कार्यतालीका, दरखास्त संकलन, परीक्षा प्रणाली लगायतका विविध पक्षबारे जानकारी दिने उद्देश्यले शनिवार बनेपामा नागरिक सचेतना कार्यक्रम सम्पन्न भयो । आयोगले आफ्ना कामकारवाही अनलाईनमार्फत गर्ने कार्यको सुरुवात गरिसकेकोले सो सम्बन्धी जानकारी प्रदान गरिएको हो । निष्ट कलेज बनेपामा सम्पन्न कार्यक्रममा आयोगका बरिष्ठ मनोविज्ञानवेत्ता एवं प्राविधिक समितिका संयोजक सर्मुनलाल शाक्यले आयोगको कार्यतालीका, दरखास्त संकलन प्रक्रिया, परीक्षा संचालन, अन्र्तवार्ता लगायत उम्मेदवार छनौट गर्न अपनाउने विधि एवं प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।
 आयोगका शाखा अधिकृत माधव भण्डारीले अनलाईन पद्दतिबाट दरखास्त फाराम भर्ने सम्बन्धमा प्रयोगात्मक अभ्यास सिकाउनुभयो । कार्यक्रममा आयोगका इञ्जिनियर शम्भुकुमार झा, इन्फाइनाइट सोलुसन्स इन्डियाका प्रतिनिधी अरुण हमाल, गणित शिक्षक समाज काभ्रेका अध्यक्ष सिताराम तिवारी, निष्ट कलेजका प्राचार्य चेतन विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन प्राविधिक समितिका सदस्य मनोजकुमार न्यौपानेले गर्नुभएको थियो । लोक सेवा आयोगले एशियाली विकास बैंकको सहयोगमा उम्मेदवार छनौट प्रक्रियालाई आधुनिकीकरण गर्ने कार्यको अन्तिम चरणमा पुगेको छ । 

अन्य समाचारहरु