सरकारले घटाएको सार्वजनिक यातायातको भाडादर शुक्रबारदेखि लागू गर्दैछ । यातायात व्यवस्था विभागले बुधबार भाडादर घटाउने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतका लागि बिहीबार पठाएको थियो । मन्त्रालयले बिहीबारै स्वीकृत गरेपछि विभागले शुक्रबार सार्वजनिक सूचना निकालेर नयाँ भाडादर लागू गर्ने जनाएको छ ।
इन्धनको मूल्य घट्दै गएपछि विभागले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र उपभोक्तासँग सरोकार राख्ने संघसंस्थासँग मिलेर यात्रुवाहक बसमा २ दशमलव २२ प्रतिशत, मालवाहक (ट्रक) तराईमा ३ दशमलव २४ प्रतिशत, मालवाहक ट्रक (काठमाडौं/पोखरा-नारायणघाट) मा ३ दशमलव १ प्रतिशत र मिटरजडित ट्याक्सी र त्रिभुवन विमानस्थल भन्सार परिसरबाट चल्ने सवारी साधनको दरमा १ दशमलव ६ प्रतिशत भाडा घटाएको छ । विभागले विद्यार्थी सहुलियतमा विगतकै सहमतिबमोजिम भाडादर कायम भएको र विद्यार्थी परिचयपत्रलाई आधुनिक प्रविधिअनुरूप बनाई नक्कली परिचयपत्र प्रयोग हुन नदिने जनाएको छ ।
यात्रुवाहकमा ४० र मालवाहकमा ५५६ रुपैयाँ यात्रुवाहकमा बढीमा ४० र मालवाहकमा ५ सय ५६ रुपैयाँसम्म घटेको छ । यात्रुवाहकमा काठमाडौं-धनगढी-सितागढी-साँफेबगरको ९ सय किलोमिटर रुटमा सबैभदा बढी ४० रुपैयाँ भाडा घटेको छ । यो रुटमा नयाँ भाडादर १ हजार ७ सय ४७ कायम हुन आएको छ । यसअघि भाडादर १ हजार ७ सय ८७ थियो ।
मालवाहकमा भने पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्रनगरसम्मको ९ सय २७ किलोमिटर रुटमा सबैभन्दा बढी ५ सय ५६ रुपैयाँ भाडा घटेको हो । यहाँको नयाँ भाडादर ४२ हजार ७ सय ७१ हुन आएको छ ।
यसअघि ४३ हजार ३ सय ३७ थियो । यस्तै, काठमाडौं-नारायणगढ-हेटौंडाको २ सय २० किलोमिटर दूरीको भाडादर ४ सय ३३ बाट १० रुपैयाँ घटेर ४ सय २३ कायम गरिएको छ । यस्तै, काठमाडौं वीरगन्जसम्मको २ सय ७० किलोमिटरको भाडादर ५ सय १५ बाट घटेर ५ सय ४ मा आइपुगेको छ ।
उपत्यकाको भाडादर पुरानै
विभागले निकालेको नयाँ भाडादरमा कम्तीमा १३ देखि बढीमा २५ रुपैयाँसम्म निर्धारण भएको छ । यो पुरानै भाडादर हो । कम्तीमा ४ किमिसम्म १३ र बढीमा १९ किमिसम्म २५ रुपैयाँ नै छ । विभागले यसअघि पनि वैज्ञानिक भाडा प्रणालीअनुसार न्यूनतम भाडा १३ रुपैयाँ ७२ पैसालाई १४ को साटो १३ रुपैयाँ भनी घोषणा गरेको थियो ।
तर त्यसलाई व्यवसायीले लागू गरेनन् । बरु व्यवसायीले १५ रुपैयाँ नै लिंदै आएका थिए । विभागले आफूले घोषणा गरेको भाडादर व्यवसायीले लागू नगर्दासमेत कुनै कारबाही गर्न सकेको थिएन ।
यसअघि सरकारले घोषणा गरेको भाडादर व्यवसायीहरूले लागू नगरेपछि यस पटक भने नयाँ भाडादरलाई प्रभावकारी ढंगबाट लागू गर्न अनुगमन टोली गठन भएको छ । अनुगमन टोलीमा विभाग, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, महासंघ, ट्रक व्यवसायी महासंघ, उपभोक्तासँग सरोकार राख्ने संघसंस्थाको प्रतिनिधित्व हुनेछ ।
ट्याक्सीमा भाडा घटेन
सरकारले भाडा समायोजन गरे पनि सार्वजनिक भाडाका ट्याक्सीको भाडादर घटेन । यसअघि जस्तै प्रतिकिलोमिटर भाडादर ३६ रुपैयाँ नै हुन आएको छ । यस्तै, फ्ल्याग डाउनमा पनि १४ रुपैयाँ नै यथावत् छ । प्रतिदुई सय मिटरमा पनि ७ रुपैयाँ २० पैसालाई नै यथावत् राखिएको छ ।
पर्यटक ट्याक्सीमा भाडामा ८ कम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यकाभित्र सहरी क्षेत्रमा भाडादर ८ रुपैयाँ कम भएको छ । ०-५ किमिसम्म ४ सय ९८ बाट हटेर ४ सय ९० रुपैयाँ कायम हुन आएको छ । यस्तै, ५ किलोमिटरपछि प्रतिकिमि ७० रुपैयाँका दरले लिन पाउने भएको छ । यसअघि ७२ रुपैयाँ थियो । बढीमा भने १ हजार ८८ बाट घटेर १ हजार ७० रुपैयाँ कायम हुन आएको छ ।
विभागले आफूले घोषणा गरेको भाडादर व्यवसायीले लागू नगर्दासमेत कुनै कारबाही गर्न सकेको थिएन । ईकन्तिपुरमा समाचार छ ।