डेनमार्क र नर्वेमा वस्दै आएका नेपालीहरुले हरितालीका तीज भव्य रुपमा मनाए


प्रकाश सापकोटा
कोपन्हेगन  । डेनमार्क र नर्वेमा वस्दै आएका नेपालीहरुले हरितालीका तीज भव्य रुपमा मनाएका छन ।  डेनमार्कको राजधानी कोपन्हेगन आसपास बसोवास गर्ने नेपालीहरु गत शनिबार साँझ एकैठाउँ भेला भएर नाचगान गर्दै र दर खाँदै तीज मनाए । कोपन्हेगन छेउछाउ बसोबास गर्ने अधिकांश महिला पुरुषहरु उक्त तीज कार्यक्रममा सहभागी थिए ।
प्रवासी नेपाली मंच, डेनमार्कले कोपन्हेगनको हुल्गार्ड्समा सो कार्यक्रमको आयोजना गरेको  थियो। कुनै प्रवेश शुल्क बिना सबै नेपालीहरुलाई सहभागीताका लागि खुला आह्वान गरिएको कार्यक्रममा मन्चले बिबिध नेपाली परिकारहरुको दर निशुल्क खुवाएको थियो। सहभागीहरुले परदेशी भूमीमा भरपुर नेपालीपन महसुस भएको   बताए ।
उक्त अवसरमा मन्चका अध्यक्ष कृष्ण पौडेलले महिला दिदीबहिनीहरूलाई एकत्रित गराई तीजको बेला क्षणभरका लागि भए पनि घर, माइतीको नियास्रो मेटाउने सानो प्रयास गरिएको  बताए। गत साता कोपन्हेगनकै भ्यान्लुस क्षेत्रमा  गैर आवासीय नेपाली संघ डेनमार्कले तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा  चर्चित नेपाली लोक गायीका कोमल ओलीले तीज तथा अन्य लोक गीत गाएर सहभागीहरुलाई मज्जैले नचाएकी थिइन्।
त्यस्तै उत्तरी नर्वेको ट्रोम्सो सहरमा रहेका सम्पूर्ण नेपाली महिलाहरु आफैं एकजुट हुँदै मंगलबार एकैठाउँ भेला भएर सामुहिक दर खाएर नाचगान गर्दै तीज मनाएका छन । त्यहाँस्थित नेपाली समाजले  आगामी शनिबार औपचारिक तीज बिशेष कार्यक्रम आयोजना गर्न लागेको नेपाली सोसाइटी अफ ट्रोम्सो, नर्वेका अध्यक्ष मार्शल पोखरेलले जानकारी गराएका छन्।