उमाकान्त पाण्डे / यूएई , कार्तिक ४ – संयुक्त अरब इमिरेट्स युएईको दुबइमा मृत्युदण्डको सजाय सुनाईएका नेपालीको रिहाइ अझै अन्यौलमा परेको छ । धारी २ दार्चुलाका अमरबहादुर बमलाई बचाउन नेपाल सरकारले उच्च स्तरीय पहल गरेको भए पनि पीडित परिवारले ब्लडमनी स्विकार नगरेकोले उहाको रिहाइ तत्काल सम्भब नरहेको दुतावासले जनाएको छ ।
युएइका विदेश मन्त्री अब्दुल्लाह बिन जाइद अल-नहृ्यनले राष्ट्रसंघीय महासभाको साइडलाइनमा ‘नेपाली नागरिक बमले ब्लड-मनी बुझाएपछि मात्रै आममाफी पाउन सक्ने’ बताए पनि यूएईमा रहेको नेपाली दुतावासलाई यस् बारे कुनै अधिकारिक जानकारी गराइएको छैन ।
यहाँको उच्च अदालतलेनै बमलाई मृत्युदन्डको सजाय सुनाई सकेकोले यस् बिषयमा दुतावासले बम निर्दोष हुन भनेर भन्न नमिल्ने यूएईका लागि कार्यबाहक नेपाली राजदुत नेत्र बहादुर टण्डनको भनाइ छ । ‘ज्यान मुद्दाको अनुसन्धानका क्रममा यूएईको कानुनत: अदालतले पीडित पक्षलाई तीन विकल्प क्षमादान , ब्लडमनी वा मृत्युदन्ड दिने बताउदै उपनियोग प्रमुख समेत रहेका टण्डनले बमको बिषयमा पीडित परिवारले मागेको आधारमा मृत्युदन्डको सजाय सुनाएकोले उहाको बिषयमा केही बोल्न नसकिने बताउनु भयो ।
कार्यबाहक राजदुत टण्डनले ‘कसले कहाँ के बोल्छ भन्ने अनौपचारिक कुरा हो,अनौपचारिक बिषयले महत्व नराख्ने भन्दै बमको रिहाइ हुने अवस्था तत्काल छैन’ भन्नुभयो ।
यस् अघिको सरकारले बमको आममाफीका लागि यूएई सरकारका उच्च स्तरीय अधिकारिलाई सम्बोधन गरी पत्र बुझाएको थियो । पत्र बुझाउन प्रधानमन्त्रीको बिशेषदुतको रुपमा सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल यूएई आएर उच्च स्तरीय भेटघाट तथा वार्ता समेत गर्नुभएको थियो ।
सन् २००२ डिसेम्बर २३ मा भारत हुँदै युएई आएका ३४ वर्षका अमर २००३ को जनवरी २६ बाट दुबईको अल अविरस्थित सेन्टर जेलमा थुनामा छन् । भारतीय नागरिक शरद सेट्ठीको हत्या अभियोगमा जेल परेका उनलाई अदालतले १२ बर्ष पहिले मृत्युदण्डको सजायँ सुनाएको हो ।
सेट्ठीको हत्या गर्न योजनाबद्ध रुपमा संलग्न रहेका भारतीय नागरिक मनोज मुदाना, करनसिंह राजपुतको गाडी अमरले चलाएकाले उनीमाथि हत्याको अभियोग लागेको नेपाली समाज युएईका पूर्व अध्यक्ष कृष्णबहादुर ढकालले बताउनुभयो ।
यूएई तथा कतिपय मध्यपुर्वका मुलुकमा रहेका नेपाली संघसस्थाले अमर बचाउ अभियान चलाएर पैसा उठाउन समेत सुरु गरेका छन । बम बचाउ अभियान आफ्नो सस्थाको नेत्रित्वले गर्न सके सस्थालाई फाईदा पुग्ने भन्दै कतिपय संघसस्थाले तयारी थालेको बताएका छन । दुतावासले भने आधिकारिक रुपमा उहाको रिहाइ बारे तत्काल कुनै सम्भावना नरहेको पुष्टी गरेको छ । कुनै पनि संघसस्थालाई बमको रिहाइका लागि भन्दै पैसा सहयोग नगर्न नेपाली समाज यूएईका पुर्व अध्यक्ष कृष्ण ढकालले आग्रह गर्नुभएको छ ।
बमलाई बचाउन आग्रह गर्दै बमको गृह क्षेत्र सुदुर पश्चिम सेवा समाज यूएईले नेपालमा बनेको नयाँ सरकारलाई ज्ञापन पत्र बुझाउँने तयारी गरेको समाजका महासचिव मानबहादुर केसीले बताउनु भयो ।