युएईको अलऐनमा हुने वीर गोर्खाली राष्ट्रिय एकता साँझको तयारी अन्तिम चरणमा

उमाकान्त पाण्डे/ युएई, कार्तिक १२ – रोजगारीका लागि युएईको अलऐनमा रहेका नेपालीले संम्युत्त रुपमा मिलेर आयोजना गरेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । यहाँ काम गर्ने नेपालीलाई समस्या पर्दा सहयोग गर्न राहत कोष स्थापना गर्न भन्दै वीर गोर्खाली राष्ट्रिय एकता साँझ गरिने भएको हो ।
विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गरेर उद्दार गर्न भन्दै राहतकोष स्थापना गर्नका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालीका महानपर्व दसैँ र तिहारको अवसर पारेर युएईको अलएनमा आउँदो कात्तिक २० गते शुक्रबार (६ नोभेम्बर ) सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
अल ऐनमा रहेका विभिन्न नेपाली समाजिक संघसंस्था तथा नेपाली व्यवसायीहरूको सामुहिक प्रयासमा कार्यक्रम गर्न लागिएको हो । अलऐन राहत तथा उद्दारकोष स्थापनाका लागि गरिने सांस्कृतिक कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार समेत युएई आउने छन् ।
कार्यक्रममा अस्ट्रेलिया बाँट हटपप गायिका स्मृती पोख्रेल, ढाडे बिरालोका चर्चित गायक प्रकाश कटुवाल,गायिका शान्ति श्री परियार तथा हाँस्यकलाकार मरिचमान श्रेष्ठ(बल्छी धुर्बे) आउने पक्कापक्की भएको छ । 
यस्तै युएईमा कार्यरत नेपाली कलाकारले पनि कार्यक्रममा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने तयारी गरेका छन ।  कार्यक्रम संयोजक बिनोद श्रेष्ठका अनुसार कार्यक्रमलाई आर्थिक रुपमा यूएईमा रहेका धेरै नेपाली ब्यबसायीहरुले सहयोग गरेका छन । कार्यक्रममा यहाँ कार्यरत नेपालीलाई उपस्थित भएर परदेशमा चाडपर्वको अवसरमा रमाइलो सँगै सामाजिक काममा सहभागी बन्न आयोजकले अनुरोध गरेको छ ।